काठमाडौँ । काठमाडौँ महानगरपालिका निर्धारित मितिमा बजेट ल्याउनबाट चुकेपछि बजेट तर्जुमा तथा कार्यक्रम समितिले मेयर बालेन्द्र शाह(बालेन)को ध्यानाकर्षण गराएको छ ।
काठमाडौँ महानगरपालिकाका कार्यपालिका सदस्य र नगरसभा सदस्यहरूले अनौपचारिक बैठक राखेरै पटक-पटक दबाब दिँदा पनि मेयर बालेनले बेवास्ता गरेको समितिको आरोप छ। आफ्नो नेतृत्वको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक राख्न समेत पहल नगरेपछि महानगर समयमा बजेट ल्याउनबाट चुकेको आरोप समितिले लगाएको हो ।
मंगलबार राति अनौपचारिक रूपमा बसेको बजेट तर्जुमा समितिको बैठकले मेयर साहलाई अझै पनि बजेट ल्याउने विषयमा बेवास्ता नगर्न र गम्भीर बन्न ध्यानाकर्षण गराउने निर्णय गरेको थियो । समितिले बुधबार औपचारिकरुपमा बालेनलाई यसबारे ध्यानाकर्षण गराएको छ ।
प्रवक्ता समेत रहेका समितिका सदस्य नवीन मानन्धरले भने, ‘सबैभन्दा बढी पहल मेयरज्यूले गर्नुपर्ने हो तर उहाँबाटै त्यो भएन । यहाँले समन्वय गर्नुभएको भए त हिजै बजेट आइहाल्थ्यो नि ?’
बजेट तर्जुमा समितिको अनौपचारिक बैठकमा यो विषयमा समेत केन्द्रित भएर समीक्षा गरेको अर्का एक सदस्यले जानकारी दिए । आर्थिक वर्ष २०८२/०८३ को बजेट सीमा निर्धारण नहुँदा बजेट अभावले महानगरपालिकाद्वारा सञ्चालित विकास निर्माण, कर्मचारीको पारिश्रमिक, ज्येष्ठ नागरिकले प्राप्त गर्ने भत्ता, तथा काठमाडौँ महानगरपालिकाको फोहोरमैला सङ्कलन तथा विसर्जनमा समेत साउन १ गतेदेखि प्रत्यक्ष असर पर्ने पर्ने ती समिति सदस्यको भनाई छ ।
अनौपचारिक बैठकमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ ले आगामी आर्थिक वर्षको राजश्व र व्यय (बजेट) अनुमान कार्यपालिकाबाट स्वीकृत गराई असार १० गते भित्र नगरसभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था गरेकोमा ऐनले तोकेको उक्त समयसीमाको पालना नगरेको सम्बन्धमा पनि गम्भीर समीक्षा गरिएको छ ।