घोराही– यहाँको एक सामुदायिक वन र उपभोक्ता समूहले वन क्षेत्रमा खेर जाने वस्तुबाट प्राङ्गारिक मल उत्पादन गर्दा वन क्षेत्रमा लाग्ने डढेलो नियन्त्रणमा सहयोग पुगेको छ । सुक्खा समयसँगै अन्य वनमा आगलागी भए पनि दाङको लमही नगरपालिका–५ स्थित अजम्बरी सामुदायिक वन क्षेत्रमा आगो लागेको छैन ।
सो वन उपभोक्ता समूहले वन क्षेत्रमा खेर जाने घाँस र पातपतिङ्गरलाई उपयोग गरेर प्राङ्गारिक मल उत्पादन गर्न थालेपछि यो कार्यमा सहयोग पुगेको हो । वन क्षेत्रमा जलेर, कुहिएर नष्ट हुने घाँस र स्याउला सोत्तरलाई उपयोग गरेर गत वर्षदेखि प्राङ्गारिक मल उत्पादन गर्न थालिएको छ ।
समूहका अध्यक्ष पवन शर्मा रिजालका अनुसार पातपतिङ्गरबाट मल उत्पादन र मललाई आम्दानीसँग जोड्ने गरी वन समूह अघि बढेको बताए । पातपतिङ्गर व्यवस्थापनलाई दिगो बनाउन आम्दानीसँग जोडेर प्राङ्गारिक मल उत्पादन थालेको जनाउँदै अध्यक्ष रिजालले भने, ‘वन क्षेत्रमा खेर जाने पातपतिङ्गरलाई सदुपयोग गर्दै प्राङ्गारिक मल उत्पादनमा जोडिएका छौँ, यसले सुक्खा समयमा वन क्षेत्रमा लाग्ने डढेलो नियन्त्रणमा समेत सहयोग गरेको छ ।’
सुक्खाका समयसँगै अन्य वनमा आगलागी भए पनि अजम्बरी सामुदायिक वन क्षेत्रमा लागेको छैन । त्यसले गर्दा वनमा खेर जाने वस्तुको सदुपयोग भएको छ भने आगलागी नियन्त्रण र आम्दानीमा सहयोग पुगेको छ । यहाँ वन समूहले प्राङ्गारिक मल उत्पादन गर्न थालेपछि स्थानीय सात जनाले रोजगारी पाएका छन् ।