काठमाण्डौ – ललितपुरको सातदोबाटो–हात्तीवन ओरालोमा कार अनियन्त्रित भएर दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।
गएराति बा १५ च ७६५२ नम्बरको कार दुर्घटना हुँदा कारमा रहेका विशाल बिक, अमरध्वज पौडेल र मुसेस लामिछाने घाइते भएका प्रहरीले जनाएको छ ।
घाइते सबैको पाटन अस्पतालमा उपचार भइरहेको ललितपुर प्रहरी परिसरका एसपी चक्रराज जोशीले जानकारी दिनुभयो ।
उहाँका अनुसार कारमा चालकसहित चार जना थिए । कार चालक रुपक सापकोटा भने सामान्य घाइते भएका छन् । उनले रक्सी खाएर गाडी चलाएको पाइएकोले प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
कारको ठक्करबाट सडकमा रहेको बिजुलीको पोल भाँचिएको छ । प्रहरीका अनुसार ११ हजार भोल्टको हाइटेन्सन तार टाँगिएको बिजुलीको पोल सडकको बीच भागमा रहेकाले दुर्घटना भएको ठाउँमा गाडी आवागमन बन्द गरिएको छ । त्यस क्षेत्रमा आवतजावत गर्नेलाई सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।
ललितपुर महानगरपालिकाका नगर प्रहरी, ट्राफिक प्रहरी, नेपाल प्रहरी र विद्युत् प्राधिकरणका प्राविधिकहरुसमेतको सहयोगमा पोल हटाउने प्रयास भइरहेको छ ।