काठमाण्डौ । लुम्बिनी प्रदेशको डिआइजी हुदा दान बहादुर कार्कीले एउटा नीति अगाडि सारे , प्रदेश बाहिर दरबन्दी भएकाहरूलाई कंही पनि र कुनै पनि थाना चौकीहरूको इन्चार्ज नदिने । यो प्रहरी प्रधान कार्यालयको नीति नभएर डिआइजी कार्कीको आफ्नो नीति थियो । यसलाई धेरैले राम्रो पनि मानेका थिए । प्रदेश प्रहरी प्रमुखले आफ्नो कार्यकालमा आफ्नो नीति प्रदेश भर लागू गर्नु स्वाभाविकै हो । त्यसै अनुसार लुम्बिनी प्रदेशमा सीमावर्ती थाना चौकीहरूमा काजमा बसेकाहरू जिल्ला हाकिमलाई टेण्डर हालेर जाने प्रचलन केही हदसम्म रोकिएको थियो । किनकि सीमावर्ती थाना चौकीहरूमा अतिरिक्त कमाई हुने भएकोले पनि टेण्डर हालेर जाने प्रचलन रहेको छ ।
तर यो नीति भने दानबहादुर कार्की प्रदेश प्रमुख भएको समयमा नै लागू भएन । यसको ज्वलन्त उदाहरण बांके जिल्ला प्रहरी कार्यालयमा नै छ । कपिलवस्तुको बहादुरगंज दरबन्दी भएका असई भक्त बहादुर खड्का एउटा उदाहरण हुन् । उनी बांके जिल्ला प्रहरी कार्यालयमा लामो समयदेखि कार्यरत रहंदै आएका छन् । बर्षाें बर्ष देखि कार्यरत रहेपनि उनलाई प्रदेश प्रहरी र प्रहरी मुख्यालयले अन्यत्र सरूवा गरेको छैन । छिमेकी जिल्ला कपिलवस्तु दरबन्दी भएको भए पनि उनी दरबन्दीमा नगई बांके आफ्नो हैकम जमाउन सफल भएका छन् । उनी हवल्दार हुदांदेखि नै जिल्ला प्रहरी कार्यालयको प्रशासन शाखामा लामो समयदेखि नै कार्यरत थिए । हवल्दारबाट असईमा बढुवा हुने बित्तिकै बेशिक तालिम नगरीकन नै उनी बांके सबैभन्दा राम्रो मात्रै नभई नेपालकै दस वटा प्रमुख भन्सार नाका मध्येको एक जमुनाहा भन्सार नाकामा जान र लामो समय टिकिरहन सफल पनि भए । पहिले सई र अहिले प्रहरी निरीक्षक बस्ने उक्त भन्सार नाकामा असई त्यसमाथि पनि हवल्दारबाट बढुवा हुने बित्तिकै र बेशिक तालिम पनि नगर्दै जमुनाहा जान सक्नु र लामो समय टिकिरहन सक्नुअसई भक्त बहादुर खड्काको ठूलो परिचय हो । उनको खान र खुवाउन सक्ने जुन कला छ , त्यसले शुरू देखि नै काम गरिरहेको छ । जमुनाहा भन्सार लामो समय बसेपछि मात्रै उनी असईको बेशिक तालिम गर्न बुटवल तालिम केन्द्र गएका हुन । तालिम सकेपछि पनि उनलाई दरबन्दीमा पठाउने काम भएन । निवर्तमान प्रहरी महानिरीक्षक बसन्त बहादुर कुंवरको दरबन्दी पठाउ अभियानमा पनि उनी परेनन् । तालिम सकेर जिल्लामा कार्यरत उनलाई हालै सरूवा भएका एसपी तुल बहादुर कार्कीले बांके जिल्ला प्रहरी मातहत असई दर्जाको लागि सबैभन्दा राम्रो र मासिक लाख भन्दा बढी अतिरिक्त आम्दानी हुने ठाउँको रूपमा चिनिदै आएको नगर भवन स्थित प्रहरी कार्यालयमा पठाएका छन् ।
नगर भवन स्थित प्रहरी चौकीमा जानका लागि असई दर्जाका प्रहरी बीच हाकिमलाई टेण्डर हाल्ने परिपाटी यहाँ रहेको छ । खड्का पनि त्यसै अनुसार नगर भवन पुगेका छन् ।यो ठाउँ किन टेण्डर हालेर जान्छन् भने जमुनाहा स्थित मुख्य भन्सार नाकाबाट मात्रै होइन त्यसबाहेक वरपरका नाकाबाट जतिपनि तस्करी धन्दा हुन्छ , जतिपनि भन्सार छलेका सामान भित्रिन्छन त्यस्तो तस्करी धन्दा गर्ने तस्करहरूले नगर भवनको प्रमुखलाई मासिक होइन कि हप्तावारि रकम नदिए उपाय नै छैन । अन्यथा सामान पक्राउ परिहाल्छ । रकम दिएपछि छुटिहाल्छ । असईलाई पनि कति सहज भने सीमावर्ती नाकाबाट छुटेर आएको समान पक्राउ गर्नैपर्छ भन्ने पनि छैन । अनि माल खायो छोड्यो । अझै असई खड्कालाई त लामो समयदेखि जिल्ला प्रहरी र मुख्य भन्सार नाका जमुनाहा बसेका कारण व्यापारी देखि तस्करहरू सबै चिनेको कारण पनि रकम उठाउन सहज नहुने कुरा नै भएन । अब नयाँ प्रहरी महानिरीक्षक र जिल्ला प्रहरी प्रमुखको यस्तो कुरामा ध्यान जाने थियो कि ?