म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालमा चालु वर्षको वसन्त यामको आरोहण सुरु भएको छ । सोमबार बिहान मकालु एडभेन्चरबाट आरोहणका लागि पुगेका एक जना बङ्गलादेशी, एक जना हंगेरी र एक जना किर्किस्तानी नागरिक गरी तीन जनाले अन्नपूर्णको सफल आरोहण गरेका छन् ।
मकालु एडभेन्चरका प्रबन्धक तथा नेपाल पर्वतारोहण सङ्घका महासचिव मोहन लम्सालले सोमबार बिहान तीन जनाले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेको जानकारी आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, "तीन जनाले आज बिहानै हिमाल आरोहण गरेको खबर आधार शिविरबाट प्राप्त भएको छ । आरोहणका लागि आजको मौसम अनुकुल भएकाले धेरै आरोहीहरू चुचुरोमा पुग्ने क्रममा छन्। जहाँ सम्म आजको दिन कम्तीमा ३० जनाले हिमाल आरोहण गर्ने भन्ने सूचना पाएको छु ।"
आरोहणको सिजन सुरु भएसँगै चार हजार एक सय ९० मिटर उचाइमा रहेको आधार शिविरमा यतिखेर आरोही, शेर्पा, पथप्रर्दशक, मजदुर र पर्यटकहरूले भरिएको छ ।
गत वर्षभन्दा यसपटक आधर शिविरमा आरोही र पर्यटकको चहलपहल निकै बढेको मौरिस हर्जोग पदमार्गका अभियन्ता तथा नारच्याङका पर्यटनकर्मी तेज गुरुङले भन्नुभयो, ‘‘मौरिस हर्जोग पदमार्ग हुँदै ४ हजार एक सय ९० मिटर उचाइमा रहेको आधार शिविरमा पुगेका आरोहीहरूको टोलीले टेन्ट टाँगेर बसेका छन् । आरोहीहरू पुग्न थालेपछि आधार शिविर गाउँ जस्तै बनेको उहाँले बताउनुभयो ।