काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा टोखा नगरपालिका–१ घर भई बुढानिलकण्ठ नगरपालिका–६ बस्ने ३९ वर्षीय राजु बिक्रम राणा, ३५ वर्षीया रोशनी राणा र टोखा नगरपालिका–९ बस्ने कञ्चनपुर बेदकोट नगरपालिका–१० घर भएका ३३ वर्षीय भिमबहादुर महर रहेका छन् ।
राजु र रोशनीले पोल्याण्ड पठाइदिन्छु भन्दै एक जना पीडितबाट चार लाख १२ हजार रूपियाँ तथा भिम बहादुरले दुई जना पीडितबाट दुई लाख रूपियाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राजु र रोशनीलाई काठमाडौं महानगरपालिका–६ बौद्ध तथा भिम बहादुरलाई काठमाडौं महानगरपालिका–२६ बाट पक्राउ बुधबार पक्राउ गरेको छ ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको नेपाल प्रहरी प्रधान कार्यालयद्वारा बुलेटिनमा उल्लेख छ ।