इलाम – जिल्लाको चुलाचुली गाउँपालिका-२ की हिमादेवी भण्डारीले लौका बेचर मासिक ४० हजार आम्दानी गर्दै आएकी छन्। कृषि पेसाबाट केही हुँदैन भन्नेका लागि उनी परिवार र समाज समृद्ध बन्नसक्ने उदाहरणीय पात्र बनेकी छन्।
भण्डारी बिहान सबेरैदेखि तरकारी बारीमा पुग्छिन्। दिउँसो उत्पादित वस्तु बजार लैजाने, बेच्ने र बेलुका पुनः करेसाबारीमा खटिने उनको दैनिकी हो। सिजनमा मात्रै तरकारी र फलफूल उत्पादन हुने बताउँदै उनले बेमौसमी तरकारीखेती गर्नसके मनग्ये आम्दानी गर्न सकिने धारणा राखेकी छन्।
भण्डारीले १० बिघा जमिनमा विभिन्न कृषिउपजको खेती गरेको बताइन्। बारीमा अधिकांश समय लौका हुने उनको भनाइ छ। गत असोजदेखि उत्पादन सुरु भएको लौका अहिलेसम्म बिक्री भइरहेको छ। सुरुमा प्रतिलौका १७० बिक्री जनाउँदै उनले अहिले भने ५० मा बिक्री हुने बताइनर।
उत्पादित कृषिउपज झापाको दमकमा लगेर बिक्री गर्छिन्। करिब सात किलोमिटरमा पर्ने यो बजारमा उनी दैनिकजसो पुग्छिन्।।
लौका बेचेरै छोरा बुहारीलाई जापान पठाउन लिएको ऋण १५ लाख तिरिसक्न लागेको उनको भनाइ छ।
लौकाबाहेक स्थानीय कुरिलो, बोडी, मुन्टा, अन्य तरकारी र मेवा उत्पादन भइरहेको भण्डारीले बताउनुभयो। घरमा दही जमाएर मोही र नौनी घिउ पनि बिक्री गर्ने गरेको बताउँदै उनले आफ्नो उत्पादनसँगै गाउँमा उत्पादित वस्तु पनि उनी बजार लगेर बिक्री गर्छिन्।
भण्डारीले १७ वर्षअघिदेखि यो पेसालाई निरन्तर दिँदै अहिले व्यावसायिक तरकारीखेतीमा संलग्न भएको बताइन्। हालै स्थानीय निकायबाट अनुदानका कार्यक्रममा सहभागी भएको उनले जानकारी दिइन्।
दीपज्योति कृषि फार्म सञ्चालन गरेकी भण्डारीले मौसमीभन्दा बेमौसमी तरकारीखेतीले प्रशस्त आम्दानी हुने अनुभव सुनाएकी छन्। कृषिमा अग्र्यानिक उत्पादनमा गर्नुपर्नेमा जोड दिँदै उनले घर भएका गाई र बाख्राको मल प्रयोग गर्ने गरेको जानकारी दिइन्।
आफूले १० जनालाई रोजगारी दिएको जनाउँदै भण्डारीले कतिपयलाई घण्टाका आधारमा र कतिपयलाई दैनिक ज्यालादारीमा कामदार राखेको बताइन्।