पूर्वाधारमा लगानी, पर्यटक न्यून

14.8k Shares

हिले । धनकुटाको धनकुटा नगरपालिका–१ स्थित ओक्मालुङमा एक गुफा छ । नजिकै एक सानो छाँगो छ । यी दुवै स्थानलाई प्रवर्धन गर्न भन्दै प्रदेश सरकारमार्फत धनकुटा नगरपालिकाले करिब एक करोड रुपियाँ खर्च गरेर पूर्वाधार निर्माण गर्‍यो । गुफासम्म पुग्न झोलुङ्गे पुल, सिँढी निर्माण गरिएको छ । गुफाभित्र पनि ठाउँ ठाउँमा सिँढी निर्माण गरी बत्ती जडान गरिएको छ । नजिकै रहेको छाँगोमा पौडी खेल्न पोखरी, चौतारी, शौचालयलगायत संरचना निर्माण गरिएको छ । यो क्षेत्रलाई धनकुटाको एक मुख्य पर्यटकीय गन्तव्य बनाई धेरैभन्दा धरै पर्यटक भित्र्याउन नगरपालिकाले लगानी गरेको थियो तर पालिकाको योजनाविपरीत अहिले यी स्थानमा निकै कम मात्र पर्यटक पुग्ने गरेका छन् । 

स्थानीय विराट राई पूर्वाधार निर्माण गरिए पनि पर्यटक आगमनको अवस्थामा सुधार हुन नसकेको बताउनु हुन्छ । “पहिले पहिले अलि अलि आउँथे, अहिले त त्यो पनि बन्द छ, पर्यटक नै आउँदैनन्,” राई भन्नुहुन्छ । पर्यटकको सहजताका लागि निर्माण गरिएका संरचना पर्यटक नपुग्दै भत्कने अवस्थामा छन् । वडा नम्बर १ कै हिले सिरानमा एउटा दर्शनटुप्पो (भ्यु टावर) पनि निर्माण गरिएको छ । त्यहाँको पनि अवस्था उस्तै छ । हिले पुग्ने पर्यटकसमेत त्यहाँ पुग्ने गरेका छैनन् । 

धनकुटा नगरपालिका–८ मा रहेको सामुदायिक वनमा करिब एक करोड ५० लाख रुपियाँभन्दा बढीको लागतमा विभिन्न संरचना निर्माण गरी चुलीवन पार्क बनाइएको छ । धनकुटा बजारसँगै जोडिएको भए पनि त्यहाँ पनि अशातीत पर्यटक पुग्ने गरेका छैनन् । धनकुटा नगरपालिका–२, मधुगङ्गाधाममा करिब तीन करोड ७० लाख रुपियाँको लागतमा विभिन्न संरचना तथा पूर्वाधार निर्माण गरिएको छ । मङ्सिरे पूर्णिमामा लाग्ने मेलामा बाहेक अरू समय त्यहाँ पनि कमै मात्र धार्मिक पर्यटक पुग्ने गरेका छन् । 

यी त केही उदाहरण मात्रै हुन् । धनकुटा नगरपालिका क्षेत्रमै यीबाहेक पर्यटन प्रवर्धनका लागि करोडौँ रुपियाँ खर्च गरिएको छ तर पर्यटक भित्रिन सकेका छैनन् । पर्यटन पूर्वाधार निर्माण गरिए पनि त्यसपछिका प्रचारप्रसारलगायत कार्य नगरिँदा पर्यटकको नजर पुग्न नसकेको पर्यटन अभियन्ता जीवनकुमार राई बताउनु हुन्छ । पूर्वाधार निर्माणसँगै प्रचारप्रसारलाई पनि जोड दिनुपर्नेमा त्यो हुन नसकेको उहाँको भनाइ छ । “पूर्वाधार त निर्माण भयो तर पूर्वाधारसँगै त्यसको प्रचारप्रसारका लागि गरिनुपर्ने काम हुन सकेनन् । त्यसले पर्यटकीय स्थलमा पर्यटकको नजर नपुगेको हो,” राई भन्नुहुन्छ । 

ती स्थानको प्रचारप्रसार हुन नसकेको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ स्विकार्नु हुन्छ । “हामीले पूर्वाधार निर्माण गरेका छौँ, जुन गर्नै पर्दथ्यो, अब प्रचारप्रसारमा जोड दिनु पर्छ । स्थानीयले अपनत्व ग्रहण गर्नु पर्छ, प्रचारप्रसारका लागि सबै लाग्नु पर्छ,” तामाङ भन्नुहुन्छ ।

धनकुटा नगरपालिकाबाहेक अन्य स्थानीय तहमा पनि अवस्था उस्तै छ । धनकुटाको पाख्रिबास नगरपालिका–८ मा तीन करोडभन्दा बढी रकम खर्चिएर जलदेवी सिमसार निर्माण गरिएको छ तर त्यहाँ अहिले न सोचे जति पानी छ न पर्यटक पुग्ने गरेका छन् । काठमाडौँ महानगरपालिकाको सहयोगमा एक करोडभन्दा बढी रकममा पाख्रिबासकै सुन्तलेडाँडामा निर्माण गरिएको पूर्वाधार प्रयोगविहीन छन् । त्यहाँ मन्दिर, सिँढी र यलम्बरको सालिक निर्माण गरिएको छ । यता राम्चेडाँडामा निर्माण गरिएको दर्शनटुप्पोको अवस्था पनि उस्तै छ । ती क्षेत्रका पूर्वाधार प्रयोगमै नआई टुटफुट हुन थालेका छन् । आजको गोरखापत्र दैनिकबाट 

सम्बन्धित समाचार