ललितपुर । नेपाली कांग्रेस गोदावरी नगरपालिका नगर समितिले शुभ दिपावली, छठ पर्व र नेपाल सम्वतको शुभकामना आदान—प्रदानको कार्यक्रम आयोजना गरेको छ ।

गोदावरी नगरपालिका वडा नं. १३ झरुवारासी फुलबारी पार्टी प्यालेसमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमसँगै अन्य पार्टी त्याग गरी नेपाली कांग्रेसमा पार्टी प्रवेशको कार्यक्रम आयोजना भएको थियो ।
सो कार्यक्रममा राप्रपा, नेकपा एमाले, माओवादीका नेता तथा कार्यकर्ताहरुले पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । गोदावरी नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष तथा राप्रपाका केन्द्रीय नेता निलबहादुर देसारसहित अन्य पार्टीका नेता तथा कार्यकर्ता गरी २ सय ५० जनाले पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश गर्नेहरुलाई प्रमुख अथिति पूर्व मन्त्री एनपी साउद, विशेष अतिथिहरु पूर्व सूचना तथा संचार मन्त्री गोविन्दबहादुर शाह, पूर्व अर्थराज्य मन्त्री उदय शम्शेर राणा, ललितपुर जिल्ला सभापति मदनबहादुर अमात्य, प्रदेश सांसद विजया केसी, नेपाली कांग्रेस खेलकुद विभाग केन्द्रीय सचिव तथा युवा नेता मीन कृष्ण महर्जन, पूर्व सभासद रामकृष्ण चित्रकार, महासमिति सदस्यहरु जितेन्द्र कुमार श्रेष्ठ, ऋषिराम घिमिरे, मथुराप्रसाद घिमिरे, क्षेत्रीय सभापति राजन घिमिरे, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनलगायतले शुभकामना दिएका थिए ।

सो शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको सभापतित्व नेपाली कांग्रेस गोदावरी नगरपालिका नगरसमितिका अध्यक्ष प्रदीप जोशीले गरेका थिए भने अतिथिहरुमा ललितपुर महानगरपालिका उपमेयर गीता सत्याल, गोदावरी नगरपालिका उपमेयर मुना अधिकारीलगायत जिल्लास्तरीय नेताहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा अन्य पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गराउन महिला नेतृ गोदावरी नगरपालिका उपमेयर, गोदावरी नगरपालिका नगर कमिटी अध्यक्ष मुना अधिकारी र अर्की महिला नेतृ नेपाल सहकारी बंैक संचालक सन्तानेश्वर नौधारा सहकारी संस्थाका अध्यक्ष शशी खड्काको विशेष सक्रियतामा सयौं महिलाहरुले प्रवेश गरेका हुन् ।
त्यस्तै, उक्त पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस गोदावरी कार्य समितिका उपसभापति राजेशध्वज कार्कीले विशेष भूमिका निर्वाह गरेका थिए ।

त्यसैगरी, नेपाली कांग्रेस कोन्ज्योसोम गाउँपालिकास्तरीय शुभकामना अदान—प्रदान कार्यक्रममा २०५४ सालमा नेकपा एमालेबाट साविक नल्लु गाविसबाट अध्यक्ष जितेका पूर्व अध्यक्ष कृष्णबहादुर लोप्चनसहित एमाले, माओवादी र राप्रपाका १ सय २७ जना नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । स्मरणीय छ, पछिल्लो समय ललितपुर क्षेत्र नं. १ मा अन्य पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नेहरुको लर्को नै चलेको छ ।