ग्वार्को ओभरपास : निर्णय एउटा, निर्माण अर्को

10.7k Shares

ललितपुर । चक्रपथ सडक अन्तर्गत ललितपुरको ग्वार्को चोकमा निर्माणाधीन ‘ओभरपास’ मा ठेक्कादेखि निर्माण कार्यसम्म गम्भीर प्राविधिक त्रुटि भेटिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले अदूरदर्शी र दीर्घकालीन रूपमा समस्या सिर्जना गर्ने ओभरपास निर्माणको जिम्मा लगाएको हो । 

विशेष गरी विकसित सहरहरूमा दीर्घकालीन प्रभाव पार्ने संरचना निर्माण गर्दा सहरको सौन्दर्यीकरणलाई कायम राखेर बहुउपयोगी बनाइन्छ तर ग्वार्कोमा ओभरपास निर्माण गर्दा बहुउपयोगिता र जमिनमा खाली ठाउँ राख्न सकिने विषयलाई ध्यानै दिइएन । इन्जिनियरहरूका अनुसार ग्वार्कोमा निर्माणाधीन ओभरपास पुलको आकारमा निर्माण गर्नुपर्ने थियो तर निर्माणको ठेक्का पाएको कम्पनी एम/एस आशिष समानान्तर जेबीले दुईतर्फ पर्खाल बनाएर त्यसमा माटो भरेर संरचना निर्माण गरिरहेको छ । २०७८ साउन १८ गते गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले गरेको निर्माणपूर्वको प्रस्तावमा फ्लाइओभर बनाउने निर्णय गरेको छ । केन्द्रका तत्कालीन निर्देशक विजय जैसीका अनुसार फ्लाइओभर भनिए पनि ओभरपास बनाउने निर्णय भएको थियो । 

उहाँले भन्नुभयो, “फ्लाइओभर ब्रिज बनाउन महँगो पर्ने भएकाले इपिसी पर्खाल बनाएर बालकुमारीबाट सातदोबाटो जोड्ने गरी ओभरपास बनाउने निर्णय भएको हो । यसमा धेरै अध्ययन भएको छ । यो राम्रै हुन्छ ।”

नयाँ कम्पनीलाई ठेक्का दिँदा त्रुटि

हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने भनाइलाई पुष्टि गर्ने गरी ओभरपास निर्माण गर्दा प्राविधिक त्रुटि भएको छ । केन्द्रका इन्जिनियर विक्रम पौडेलले सहरी क्षेत्रमा फ्लाइओभर ब्रिज (पुल) नै निर्माण गर्न उपयुक्त हुने भए पनि पहिल्यै ठेक्का लागेकाले अब केही गर्न नसकिने बताउनुभयो । 

उहाँले भन्नुभयो, “सहरी क्षेत्रमा फ्लाइओभर निर्माण गर्दा राम्रो हुन्छ । पुलमुनिको खाली ठाउँलाई काममा लगाउन सकिन्छ तर केन्द्रमा म आएको धेरै भएको छैन । निर्णय पहिल्यै भएकाले केही भन्ने अवस्था छैन ।”

केन्द्रका पूर्वनिर्देशक जैसीले पनि ओभरपासको माटो झिकेर फेरि भर्ने काम लापरबाहीको परिणाम भएको स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो, “नयाँ कम्पनीलाई ठेक्का दिएकाले यस्तो समस्या भएको हो । ओभरपास पनि राम्रैसँग बन्न सक्छ । नेपालमै पनि अरू केही स्थानमा यस्तो संरचना बनाइएको छ । यहाँ गल्ती भएकै हो ।” आजको गोरखापत्र दैनिकबाट अशोक अधिकारीले लेखेका हुन्।

सम्बन्धित समाचार