काठमाण्डाै – काठमाण्डाैमा उपत्यकासहित पहाडी र हिमाली भेगमा आज बिहानैदेखि एकआपसमा रङ खेली फागुपूर्णिमा अर्थात् होली पर्व मनाउनेको चहलपहल छ । यसरी होली पर्व मनाउनेले अनुमतिविना अरूलाई रङ दलिदिने र पानी खन्याइदिने गरेको दृश्य भने विरलै भेटिन थालेको छ ।
केही वर्षअघिसम्म होलीका दिन घरबाहिर निस्कनेलाई बाल्टीका बाल्टी पानी खन्याइन्थ्यो । जबरजस्ती अबिरलगायत रङ दलेर मानिस नचिनिने गरी रङ्ग्याइन्थ्यो । रङ र पानी मिलाएर घोलिएको रासायनिक पदार्थ छ्यापिन्थ्याे । विगत केही वर्ष अघिदेखि सांस्कृतिक शहर काठमाण्डाैमा फागुपूर्णिमा अर्थात् होली पर्व अनुशासित भइरहेको देखिन थालेको छ । फागु पर्व नमनाएका मानिस सडकमा हिँड्दा पनि कसैले पानी र रङ लगाइदिएको छैन ।
सामान्यतया यो वर्ष कसैले पनि अन्यको इच्छा विपरीत फागुपूर्णिमाको संस्कृतिका नाममा विकृतिका काम गरेको देखिएन । मानिस आफू आफूमै रमाए । घरपरिवार एवम् छरछिमकीसँग फागु खेले । टीका लगाइदिए । खुशी साटासाट गरे । आपसी सौहार्दता बढाए । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागुपूर्णिमा (होली) पर्व सङ्घीय राजधानीलगायत पहाडी र हिमाली जिल्लामा आज अपेक्षाकृत शान्त रूपमा मनाउन थालिएको छ ।