बाँकेबाट १० हजारभन्दा बढी विद्यार्थीले एसइई दिँदै

10k Shares

खजुरा । आगामी चैत ७ गतेबाट सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा बाँके जिल्लाबाट १० हजारभन्दा बढी विद्यार्थी सहभागी हुने भएका छन् । जिल्लाका विभिन्न ८ वटा पालिकाका २८ सामुदायिक र ८ संस्थागत गरी ३६ परीक्षा केन्द्रबाट आठ हजार २४३ नियमित र दुई हजार १७३ ग्रेड वृद्धि गरी जम्मा १० हजार ४१६ जना विद्यार्थीले एसइई दिन लागेको शिक्षा विकास तथा समन्वय इकाई बाँकेका प्रमुख धनसुदन चौलागाईँले जानकारी दिनुभयो ।

इकाई प्रमुख चौलागाईँका अनुसार दुई मदरसासहित १०४ सामुदायिक विद्यालय र १०२ संस्थागत गरी २०६ विद्यालयका पाँच हजार १७९ छात्रा र पाँच हजार २३७ छात्र गरी १० हजार ४१६ जना विद्यार्थीले एसइई दिने भएका हुन् । उहाँका अनुसार १० वटा सामुदायिक विद्यालयका ३१५ नियमित र ५९ ग्रेड वृद्धि गरी ३७४ जना प्राविधिकधारका विद्यार्थी पनि सहभागी हुने छन् ।

जसमध्ये सामुदायिक १०४ विद्यालयका तीन हजार ८८६ छात्रा र तीन हजार ५२७ छात्र गरी सात हजार ४१३ विद्यार्थी र संस्थागत १०२ विद्यालयका एक हजार २९३ छात्रा र एक हजार ७१० छात्र गरी तीन हजार तीन विद्यार्थी रहेका छन् । बाँकेमा सामुदायिक विद्यालय र संस्थागत विद्यालयबाहेक पनि ४३ जना विद्यार्थीहरुले एसइई दिन लागेका छन् । जिल्लामा रहेका दुईवटा बालसुधार गृहका ४३ जना बालबिज्याइँकर्ताहरुले पनि यसवर्ष एसइई दिन लागेका हुन् ।

पछिल्ला केही वर्षयता बाँकेमा हरेक वर्ष एसइई दिने विद्यार्थीको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । शिक्षा विकास तथा समन्वय इकाई बाँकेको तथ्याङ्क अनुसार गत वर्ष जिल्लाबाट एसइई दिने विद्यार्थीको सङ्ख्या नौ हजार २९३ रहेको थियो । यसवर्ष उक्त सङ्ख्यामा वृद्धि भई १० हजार ४१६ पुगेको छ । गत वर्षभन्दा यस वर्ष एक हजार ४१ जना बढी विद्यार्थीले परीक्षा दिने भएको हुन् । त्यसैगरी २०७९ सालमा जिल्लाबाट आठ हजार ८८६ जना विद्यार्थीले एसइई दिएका थिए ।

सम्बन्धित समाचार