जनमतले कोषाध्यक्ष यादवलाई सोध्यो स्पष्टीकरण, जिम्मेवारी पनि खोसियो

9.4k Shares

काठमाडौं - डा. सीके राउत नेतृत्वको जनमत पार्टीले कोषाध्यक्ष सुरेन्द्र नारायण यादवलाई कारबाही गरेको छ । सप्तरी निवासी उनलाई आर्थिक हिनामिना तथा ठगी गरेको आरोपमा स्पष्टीकरणसँगै जिम्मेवारीबाट पनि निलम्बन गरिएको हो ।

यादवमाथि पार्टीको केन्द्रीय अनुशासन समिति सदस्य सचिव अनिता कुमारी मण्डलले गत फागुन २१ गते विभिन्न आरोप लागेको भन्दै ४ बुँदे स्पष्टीकरण सोधेकी थिइन् ।

यादवमाथि पदीय जिम्मेवारी राम्रोसँग निर्वाह नगरेको,नियमित पार्टी काम छोडेर अमेरिका,कतार र अन्य देश घुम्न गएको पनि आरोप लागेको छ।

यादवले पार्टीका महत्वपूर्ण बैठकमा समेत भाग लिन छोडेको जनाइएको छ। स्पष्टीकरणको पहिलो बुँदामै यादव पार्टीको केन्द्रीय सचिवालय बैठकमा समेत लगातार महिनौँसम्म अनुपस्थित भएको उल्लेख छ ।

नेतृत्वलाई पार्टीको हिसाब नबुझाउने र हरेपटक हिसाब हेरफेर गर्ने गरेको आरोप पनि यादवमाथि लागेको छ।

उनीमाथि २०७९ को निर्वाचनमै पार्टीका अध्यक्ष डा।राउतलाई हराउने उद्देश्यले भूमिका खेलेको गम्भीर आरोप लागेको थियो । उनीमाथि पार्टीभित्र गुटबन्दी गरेको र विभाजनका लागि प्रयत्न गरेको अर्को आरोप लागेकोबारे पनि स्पष्टीकरण सोधिएको छ ।

सम्बन्धित समाचार