रौतहट– उपचारको नाममा सर्वसाधारणसँग चर्को शुल्क असुल्ने रौतहटको चन्द्रपुर नगरपालिका क्षेत्रमा रहेका अस्पतालहरूको ढोका आइतबार बिहानैबाट बन्द भएको छ ।
सम्बन्धित निकायबाट अनुमति नै नलिई खुलेका अस्पतालले उपचारको नाममा चर्को शुल्क लिने गरेको गुनासो आएपछि शनिबार मधेश प्रदेशका मुख्यमन्त्रीले अनुगमन तथा निरीक्षण गरेपछि त्यस्ता अस्पताल बन्द भएका हुन् ।
रौतहटको चन्द्रनिगाहपुरमा सामान्य प्रक्रियासमेत पुरा नगरी अस्पताल सञ्चालन गरेपछि स्थानीय स्तरमा त्यसको चर्को आलोचना भएपछि अनुगमनका लागि मुख्यमन्त्री सतिशकुमार सिंह रौतहट आएका थिए ।
सञ्चालनमा रहेका १० वटा निजी अस्पताल अनुगमनका क्रममा दर्तासमेत नभएका र नियम विपरीत चलाएको पाइएपछि मधेश प्रदेशका मुख्यमन्त्रीले बन्द गर्न निर्देशन दिएका थिए । पछि आइतबार अधिकांश निजी अस्पतालको सटर लागेको छ ।