काठमाण्डौ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन आवेदन प्रणाली बन्द भएको छ ।
यातायात व्यवस्था विभागले सबै प्रकारका
सवारीको लाइसेन्सका लागि आवेदन खुला गरेको चार दिनमै प्रणालीमा प्राविधिक समस्या
आएको छ । मर्मतका लागि भन्दै बिहीबारबाट अनलाइन आवेदन प्रणाली बन्द गरिएको हो ।
विभागले नयाँ लाइसेन्सको आवेदन सोमबार देखि खुला गरेको थियो ।
तर, छ महिनापछि आवेदन खुलेसँगै एकैचोटि चाप पर्दा
सिस्टममा समस्या आएको विभागका सूचना अधिकारी लोकनाथ भुसालले जानकारी दिए । उनले
लाइसेन्स आवेदन खुला गर्नासाथ करिब ९–१० लाख मानिसले एकैचोटि फारम भर्ने प्रयास
गर्दा बुधबारदेखि सर्भर पूर्ण रुपमा बन्द रहेको बताए । प्राविधिकसहितको टोलीले
मर्मतको काम सुरु गरिसकेकाले जतिसक्दो चाँडो आवेदन खुलाउने उनले बताए ।
सवारीचालक अनुमतिपत्र लाइसेन्सका लागि आवेदन
दिएर बसेका अझै साढे ३ लाख बढी लाइनमा छन् । यो संख्या काठमाडौं उपत्यकामा रहेका
कार्यालयमा सबैभन्दा बढी छ । उपत्यकामा ४ र उपत्यकाबाहिर २१ वटा यातायात व्यवस्था
कार्यालय छन् ।
विभागका सूचना अधिकारी भुसालले यसअघि नै
आवेदन दिएर बसेकाहरुको पालो पहिले आउने बताए । उनले हालै आवेदन दिएकाहरुको पालो
भने उपत्यकामा भए चार महिनामा र उपत्यकाबाहिर भए एक महिनामा आउने जानकारी दिए ।
विभागले हाल नयाँ मापदण्डअनुसार लाइसेन्सको
परीक्षा लिन सुरु गरेको छ । नयाँ मापदण्डअनुसार लिखितमा ६० प्रतिशत र प्रयोगात्मक (ट्रायल)
परीक्षाका विभिन्न चरणमा ७० अंक ल्याएमा पास भइनेछ ।