कालीकोट । स्थानीयले अवरोध गरेको ३३ केभी बिद्युत् बिस्तारको काम अवरोध हटेसँगै सुचारु भएपछि कालीकोट, जुम्ला र मुगुका नागरिकले सहज बिद्युत् पाउन थालेका छन् । कर्णाली प्रदेशका जिल्लामा बिद्युत् आपूर्ति गर्न सुदूरपश्चिम प्रदेशबाट लाइन बिस्तार भएर बिद्युत् प्रवाह भएपछि यहाँका नागरिकलाई बिद्युत् सेवा लिन सहज भएको हो ।
कोहलपुर सुर्खेत हुँदै साबिकको कर्णालीका जिल्लामा आपूर्ति गरिएको बिद्युत्को क्षमता कमजोर भएकाले बत्ती आउने जाने भइरहेको थियो । गत हप्ता देखि सुदूरपश्चिमको ३३ केभी प्रसारण लाइन जडान भएपछि बिद्युत् सेवा सहज भएको स्थानीयको भनाई छ । मान्ममा मोबाइल पसल गदै आउनु भएका मनि राज पाण्डेले दिनमा सयाैँ पटक आउने र बन्द हुने बिद्युत्को समस्या अहिले हल भएको बताउनुभयो । उहाँले दिनमा कहिले कासो झ्याप्प गए पनि उति नै बेला बिद्युत् सुचारु हुँदा काम गर्न धेरै सहज भएको सुनाउनुभयो ।
अछामको कमलबजारदेखि दैलेखको साइखोलासम्म ९ किलोमिटर दूरीको ३३ केभी प्रसारण लाइन विस्तारमा स्थानीयले अवरोध गर्दा कर्णालीका तीन जिल्लाको बिद्युत् बिस्तार योजना केही ढिलो भएको थियो । सबै तिरको संवादले सार्थकता पाएपछि बिद्युत् बिस्तार पुन सुचारु भएर औपचारिक रूपमा ३३ केभी लाइन कर्णालीमा आपूर्ति भएपछि यहाँका नागरिकले उज्यालो पाएका छन् ।