सुलीकोट । जबरजस्ती करणी गरेको आरोपमा एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जाजरकोट जिल्ला नलगाड गाउँपालिका–८ स्थायी घर भएका ३५ वर्षीय शिक्षक कमलबहादुर बोहोरा भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक ईन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार नाम परिवर्तित १५ वर्षीया नाबालिका धनकुमारीलाई विभिन्न लोभलालच देखाई पुस महिनादेखि लगात्तर माघ २८ गतेसम्म जबरजस्ती करणी गरेको आरोपमा जाजरकोट नलगाड गाउँपालिका घर भई धार्चे गाउँपालिकाको एक विद्यालयमा कार्यरत शिक्षकलाई पक्राउ गरिएको उहाँले बताउनुभयो ।
जबरजस्ती करणी गरेको आरोपमा पिडितको आफन्तले दिएको जाहेरी दरखस्तको आधारमा शिक्षक कमलबहादुर बोहोरालाई फागुन १२ गते सोमबार जिल्ला प्रहरी कार्यालय गोरखाको प्रहरी टोलीले धार्चे गाउँपालिकाबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सुवेदीको भनाइ छ ।
पक्राउ परे लगत्तै नाबालिका करणी आरोपी कमलबहादुर बोहोरालाई जिल्ला अदालत गोरखामा उपस्थित गराई जबरजस्ती करणी उद्योग कसुर शीर्षकमा मङ्गलबार मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट ७ दिनको म्याद थप गरी घट्नाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।