काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिमको कारण रोकिएको गोदावरी पुष्प प्रदर्शनीको १४ औं संस्करण आगामी शुक्रबारदेखि हुने भएको छ ।
फ्लोरिकल्चर एसोसियसन नेपालको आयोजनामा गोदावरी पुष्प प्रदर्शनीको १४औं संस्करण आगामी शुक्रबारदेखि ललितपुरको जावलाखेल खेल मैदानमा हुने भएको हो । एसोसियसनले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रदर्शनीको सबै तयारी पूरा भएको जानकारी दिएको छ ।
प्रदर्शनीमा ४४ वटा व्यावसायिक र चार वटा सूचनामूलक गरी ४८ वटा स्टल राखिने एसोसियसनले जनाएको छ । प्रदर्शनीमा नेपालमा विगत वर्षदेखि नै व्यावसायिक उत्पादन हुँदै आएका विविध जातका गोदावरी फूल बिरुवाका साथै यस वर्ष भित्रिएका गोदावरी फूलका केही नयाँ प्रजातिका फूल बिरुवाहरुको समेत प्रदर्शनी तथा बिक्री–वितरण हुनेछ । यसका साथै यस सिजनमा फूल्ने सयपत्री, मखमली तथा अन्य सिजनल फूल बिरुवाहरुको प्रदर्शनी हुने जनाएको छ ।
चार दिने मेलामा उत्कृष्ट हुने एक स्टललाई नगद तथा प्रमाणपत्र प्रदान गर्नेसमेत एसोसियसनले जानकारी दिएको छ । यस वर्ष विभिन्न विधामा गरिने प्रतिस्प्रर्धात्मक प्रदर्शनी भने नहुने एसोसियसनले जनाएको छ ।
हरेक वर्ष तिहार पर्वलाई लक्षित गरी हुने गरिएको गोदावरी पुष्प मेला कोरोना भाइरसको महामारीका कारण गत वर्ष भने स्थगन गरिएको थियो । एसोसियसनले यस पटकको प्रदर्शनीमा ५० लाख रुपैयाँको कारोबार हुने आशा गरेको छ । नेपालमा हाल १५७ हेक्टर क्षेत्रफलमा व्यावसायिकरुपमा पुष्पखेती हुने गरेको छ ।