महाशिवरात्रिको तयारी : आकर्षक बनाइँदै पशुपति क्षेत्र

10.2k Shares

काठमाडौं– महाशिवरात्रि पर्वको दिन नजिकिएसँगै पशुपति क्षेत्रलाई साजसजावट गरेर आकर्षक बनाउन थालिएको छ । पशुपति क्षेत्रका वनकाली, भुवनेश्वरी, मुख्य मन्दिर क्षेत्र, घाट क्षेत्र, राममन्दिर, मृगस्थलीलगायतको स्थान झिलिमिली बत्तीले सिँगारिएको छ ।

बत्तीका कारण रातभर पशुपति क्षेत्र जाज्वल्यमान देखिन थालेको छ । विभिन्न स्थानमा नेपालको झण्डा आकारमा बनाइएका बत्तीले भक्तजनलाई थप आकर्षित गरिरहेको छ । भुवनेश्वरीमार्गदेखि नै बत्ती र फूलले आकर्षक सजावट गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले बताए ।

बत्ती र फूलले सजावट गरिएको पशुपति क्षेत्रमा महाशिवरात्रिका अवसरमा गरिएको रङरोगन पनि अन्तिम चरणमा पुगेको छ । रङरोगनले  पशुपति क्षेत्र आकर्षक बेनेको छ । नेपालको झण्डा आकारमा सजाइएका बत्ती र फूलले आकर्षक देखिएको बालाजुबाट पशुपति क्षेत्र आएका दीपकप्रसाद घिमिरेले बताए ।

महाशिवरात्रिको तयारीका लागि कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा २०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । मूल समारोह समिति अन्तर्गत नौ उपसमिति छन् ।

सम्बन्धित समाचार