म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको दुर्गम बस्ती बगरमा सडक पुगेको छ । धौलागिरि हिमालको काखमा रहेको बगर विकट बस्ती हो । यस क्षेत्रमा निर्माणाधीन जलविद्युत आयोजनाले पहुँच मार्ग निर्माण गरेपछि गाउँ सडक सञ्जाल सँग जोडिएको हो ।
सडक पुगेपछि बगरका स्थानीयहरूमा खुसीयाली छाएको छ । सडक पुगेपछि आवतजावत र दैनिक उपभोग्य वस्तु ढुवानीमा दुर्गम बस्तीका स्थानीयवासीहरुलाई सहज हुने भएको छ । धवलागिरि हिमालको आधार शिविर जाने बगर गाउँ अन्तिम मानव बस्ती हो । कडा भीर पहरा फुटालेर जलविद्युत आयोजनाले बगरमा सडक पुर्याएको हो ।
यस क्षेत्रमा निर्माणाधीन ६५ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत आयोजनाले नाउरा हुँदै बगर जोड्ने सडक निर्माण गरेपछि बुधवार पहिलो पटक बगरमा गाडी पुगेको धवलागिरि गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष यामबहादुर घर्तीले बताउनुभयो । दुर्गम बस्तीमा पहिलो पटक गाडी आउँदा स्थानीयवासीहरुमा खुसीयाली छाएको उहाँले बताउनुभयो ।