काठमाडौं। भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी प्रकृति लम्सालका बुबा सुनिल लम्सालले ओडिसा पुगेर प्रहरी अधिकारीहरुसँग भेट गरेका छन् ।
भारतमै रहेका प्रकृतिका दाइ सिद्धान्त सिग्देलले घटनाबारे छानबिन गर्न माग गर्दै प्रहरी कहाँ सोमबार बिहानै एफआईआर दिएका थिए । अपराह्न भारत पुगेर बुबा सुनिलले प्रहरीसँग भेट गरेका हुन् ।
त्यसपछि भारतको समाचार एजेन्जी एअनआईसँग कुरा गर्दै उनले पोष्टमार्टमको प्रक्रिया सुरु भएको र त्यसपछि थप विषयहरु स्पष्ट हुने बताएका छन् । ‘उनको मोबाइल, ल्यापटप, डायरी लगायत पनि फरेन्सिकले लगेको छ, त्यो रिपोर्ट आएपछि पनि के हो थाहा हुन्छ’, लम्सालले भनेका छन्, ‘अहिलेलाई हामीलाई यति सूचना छ कि उनीमाथि ह्यारेसमेन्ट र इमासनल ब्ल्याकमेलिङ भएको थियो, त्यही कारण उनले आत्महत्या गरेकी हुन् ।’