शङ्खरापुर बस दुर्घटना : २७ जना 'डिस्चार्ज', चालक पक्राउ

7.4k Shares

काठमाण्डाै – काठमाण्डाैको शङ्खरापुर नगरपालिका–५ कात्तिके सडकमा बा २ ख ७९५८ नम्बरको विद्यार्थी बोकेको बस हिजाे दिउँसाे दुर्घटना हुँदा घाइते भएका ४३ मध्ये आज २७ जना उपचारपछि घर फर्किएका छन् ।

उनीहरू उपचारपछि आज घर फर्किएका जिल्ला प्रहरी परिसर काठमाण्डाैका प्रवक्ता एवम् प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार नगरकोटमा 'पिकनिक' खाएर आउने क्रममा सत्यसाई एकेडेमीका विद्यार्थी चढेको बस दुर्घटनामा परेको हो ।

सडकबाट तल खसेर भएको दुर्घटनामा मोरङको उर्लाबारी नगरपालिका–७ घर भएका ११ वर्षीय क्रिस्चल पुरी, सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ घर भएका २३ वर्षीय सुरेश तामाङ र सिन्धुपाल्चाेककाे त्रिपुरासुन्दरी गाउँपालिका–३ घर भई काठमाण्डाैकाे बौद्ध बस्ने १४ वर्षीय शुसाङ्क डोटेलको ज्यान गएको थियो । उनीहरू तीनै जना विद्यार्थी हुन् ।

दुर्घटनामा गम्भीर घाइते भएका क्रिस्चलको शिक्षण अस्पताल महाराजगञ्जमा, सुरेशको नेपाल मेडिकल कलेजमा र शुसाङ्कको शङ्खरापुर अस्पतालमा उपचारका क्रममा ज्यान गएकाे थियो ।

अहिले दुई जनाको केएमसी अस्पताल, नौ जनाको एनएमसी अस्पताल, एक जनाको मेडिसिटी अस्पताल, दुई जनाको शिक्षण अस्पताल महाराजगञ्ज, एक जनाको हेल्पिङ हेण्ड अस्पताल चाबहिलमा र एक जनाको पिपुल्स लाइफ केयर अस्पतालमा उपचार भइरहेको छ ।

बसका चालकलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाण्डाैका प्रवक्ता बाेहराले बताउनुभयाे ।

सम्बन्धित समाचार