गण्डकी । गण्डकी प्रदेशमा एक हजार चार सय ७७ रोपनी क्षेत्रफलमा उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती विस्तार गरिएको छ । मुस्ताङ, मनाङ, बागलुङ, गोरखालगायत हिमाली र उच्च पहाडी भेगका किसान उक्त प्रविधिको स्याउखेतीमा आकर्षित भएका हुन् । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले स्याउ बगैँचा विस्तारमा किसानलाई सघाउँदै आएको छ । मुस्ताङ र मनाङ स्याउखेतीका लागि उपयुक्त क्षेत्र मानिन्छ ।
बागलुङको ढोरपाटन, गोरखाको चुमनुब्री, म्याग्दीको गुर्जालगायतका ठाउँमा पनि उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती गरिएको मन्त्रालयका सचिव वासुदेव रेग्मीले जानकारी दिनुभयो । मन्त्रालयले स्याउखेती विस्तार तथा व्यवसायीकरण आयोजना र शितोष्ण फलफूल विस्तार तथा व्यवसायीकरण आयोजनामार्फत किसानलाई सहयोग गर्दै आएको उहाँले बताउनुभयो । उहाँका अनुसार मुस्ताङ र मनाङलाई मुख्य रूपमा केन्द्रित गरी स्याउखेती विस्तारको आयोजना सञ्चालन गरिएको हो ।
अन्य जिल्लाका उच्च पहाडी भेगका किसानले पनि पछिल्लो समय व्यावसायिक स्याउखेती सुरु गरेका छन् । मन्त्रालयले स्याउखेती र शितोष्ण फलफूल विस्तारमा बर्सेनि ठूलो बजेट खर्च गर्दै आएको छ । किसानलाई स्याउका बिरुवामा उपलब्ध गराउने गरिएको सचिव रेग्मीले बताउनुभयो ।
शितोष्ण फलफूल विस्तार आयोजनाअन्तर्गत पाँच सय २७ रोपनी क्षेत्रफलमा ओखर बगैँचा र छ हेक्टर क्षेत्रफलमा खुर्पानी बगैँचा विस्तार गरिएको छ । विस्तार गरिएको स्याउ तथा अन्य फलफूलखेतीबाट वार्षिक करोडौँ रुपैयाँ आम्दानी भइरहेका छ भने छ सय जनाभन्दा बढी रोजगारीमा जोडिएको मन्त्रालयले जनाएको छ ।