रातो मच्छिन्द्रनाथबारे छलफल गर्न ललितपुरका मेयर विज्ञसहित भारतको गुहाटीमा

8.2k Shares

ललितपुर – ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले रातो मच्छिन्द्रनाथको रथ बनाउन प्रयोग हुने बेत भारतको आसामबाट नेपाल ल्याउँदा कानूनी र प्राविधिक अड्चन झेल्नुपरेको बताउनुभएको छ । साथै यो प्रक्रिया सहज बनाउन सरोकारवालासँग उहाँले अनुरोधसमेत गर्नुभएको छ ।

गुहाटी विश्वविद्यालयले आयोजना गरेको ‘भारत–नेपाल सम्बन्धको जरा गुरु मच्छिन्द्रनाथको दृष्टिकोण’ विषयक अन्तर्राष्ट्रिय गोष्ठीको उद्घाटन सत्रमा हिजो मेयर महर्जनले रातो मच्छिन्द्रनाथको रथ निर्माणका लागि अत्यावश्यक पर्ने बेत नेपालमा सहज आपूर्तिको व्यवस्था गर्न अनुरोध गर्नुभएको हो ।

उहाँले रातो मच्छिन्द्रनाथको जात्रा रोचक तथ्यबारे जानकारी गराउँदै विश्वविद्यालयका उपकुलपति, प्राध्यापकहरू, विश्वविद्यालय परिवारलगायत गुहाटी र आसामका नागरिकलाई जात्रा हेर्न आउन निम्तासहित आह्वान गर्नुभयो ।

कुनै पनि किलाकाँटाको प्रयोगविना बेतले बाँधेर रातो मच्छिन्द्रनाथको रथ निर्माण गरिन्छ । रथ बनाउन प्रयोग गरिने बेत भारतको आसामबाट ललितपुर ल्याउने प्रचलन छ । रातो मच्छिन्द्रनाथबारे छलफल गर्न आयोजना भएको अन्तर्राष्ट्रिय गोष्ठिका लागि मेयर महर्जन विज्ञसहित भारतको आसाम गुहाटी जानुभएको हो ।

सम्बन्धित समाचार