ओली र एमाले उस्तै उस्तै

18.8k Shares

काठमाडौं । नेकपा एमाले भन्नु केपी शर्मा ओली र केपी शर्मा ओली भन्ने एमाले । यस्तै भएको छ । ओली एमालेमा सर्वशक्तिमान मात्र भएनन् देवत्वकरण गरिए । उनलाई एमालेका अधिकांश पक्षधरले देवताको ठाउँमा राख्न थालेका छन् । उनको स्टाचु समेत ठाउँ ठाउँमा राख्न थालेका छन् । यसरी ओली एमालेभित्र मदन भण्डारीपछिको महान नेता देखिन खोजेका छन् । 

ओलीसामु कोही चुनौती दिन नसक्ने अवस्था बनेको छ । ओलीले चाहे जति एमालेमा नेतृत्व लिन सक्नेछन् । अहिलेलाई एक कार्यकालमा लागि विधान संशोधन गरिएपनि भविष्यमा आवश्यकता अनुसार फेरि हुनसक्छ । किनभने एमालेमा ओलीको प्रभुत्व छ । अध्यक्ष केपी शर्मा ओलीले अर्को कार्यकाल पनि पार्टीको नेतृत्व गर्न पाउने सुनिश्चित भएको छ । एमालेको विधान अधिवेशनले ७० वर्षे उमेरहद राखेपनि ओलीलाई अनुकूल हुने गरी व्याख्या गरेपछि उनका लागि अर्को कार्यकाल सुनिश्चित भएको हो । 

विधान अधिवेशनमा प्रस्ताव गरिएको उमेरहदमा नेकपा एमालेको कार्यकारी पदमा ७० वर्ष सम्म रहन पाउने तर कार्यकालबीचमा उक्त उमेर पूरा भएपनि काम गर्न पाउने उल्लेख छ । ओली ७० वर्ष पुगेका छन् । अब यसै वर्ष महाधिवेशन भएमा उनी अध्यक्षको उम्मेदवार बन्नेछन् । अध्यक्षमा निर्वाचित भएमा उनले ७१ वर्ष पुगेपनि हट्नुपर्ने छैन । त्यसलाई कार्यकाल अवधि मानिनेछ । उमेरहदसहितको विधान प्रस्ताव उपमहासचिव विष्णु पौडेलले गरेका हुन् । उनले कुनै पनि कमिटीको कार्यकारी पदमा ७० वर्ष पूरा नहुँदासम्म उम्मेदवार हुन नपाउने र कार्यकालको बीचमा ७० वर्ष पूरा भएमा सो कार्यकालभर जिम्मेवारीमा रहेर कार्य गर्न पाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव राखे । ७० वर्षे उमेरहदबारे पौडेलले व्याख्या गर्दा उनले बीचैमा बोले, कमरेडहरु बुझ्नुभयो होला । त्यसपछि हलमा हाँसो सुनिएको थियो । यो ओलीकै लागि व्यवस्था गरिएको हो । ओलीको हदैसम्म चाकडी देखेर जग नै हाँस्न थालेको छ । तर, ओलीभक्तहरु जे सुकैलाई राम्रो भन्दै नक्कली तरिकाले ताली पिटिरहेका छन् । 

यसैगरी, एमालेमा पदाधिकारी १५ जना हुने भएका छन् । विधान महाधिवेशनमा उपमहासचिव विष्णु पौडेलले १५ पदाधिकारीको प्रस्ताव गरेका हुन् । उक्त प्रस्ताव पारित भएको छ । १५ पदाधिकारीमा १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष, १ महासचिव, १ उपमहासचिव र ७ सचिव रहनेछन् ।  

एमालको नवौं महाधिवेशनमा १ अध्यक्ष, १ वरिष्ठ नेता, ५ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव र ५ सचिवको व्यवस्था थियो । विधान महाधिवेशनमा पनि ३ उपाध्यक्षको संख्या प्रस्ताव गरिने तय भएको थियो । तर, महाधिवेशनका दौरान ७ प्रदेशमा ७ उपाध्यक्षको व्यवस्था गर्न माग आएको थियो । एमाले विभाजन भएपछि विकसित नयाँ घटनाक्रमपछि पदाधिकारी र निर्वाचन प्रक्रियामा समेत फेरबदल गर्ने तयारी भइसकेको थियो । अहिले एमालेमा नवौं महाधिवेशनबाट निर्वाचित कुनै पनि पदाधिकारी नेकपा एसमा गएका छैनन् । वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल मात्र नेकपा एसमा गएका छन् । 

पदाधिकारीमध्ये अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्षहरु बामदेव गौतम, अष्टलक्ष्मी शाक्य, भीम रावल, युवराज ज्ञवाली एमालेमै छन् । गौतमले राजीनामा घोषणा गरेपनि स्वीकृत भएको छैन । नवौं महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष विद्यादेवी भण्डारी राष्ट्रपति भएपछि उक्त पद खाली छ । महासचिवमा ईश्वर पोखरेल छन् । उपमहासचिव विष्णु पौडेल र घनश्याम भुसाल एमालेमै छन् । सचिवहरु प्रदीप ज्ञवाली, गोकर्ण बिष्ट, योगेश भट्टराई, पृथ्वी सुब्बा गुरुङ र भीम आचार्य एमालेमै छन् । 

सम्बन्धित समाचार