युद्धविरामतर्फ इजरायल-हमास : विपिनको रिहाइका लागि कतारका समकक्षीसँग परराष्ट्रमन्त्रीले मागिन् सहयोग

8.5k Shares

काठमाडौं- प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल जारी राखेको छ ।

हमास समूहको नियन्त्रणमा रहेकामध्ये केहीलाई अपहरणमुक्त गर्न लागेको भन्ने समाचार आएपछि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले कतार सरकारसँग पहल गरेकी हुन् ।

हमाससँग सम्पर्कमा रहेका र युद्धविरामका लागि मध्यस्थता गरिरहेका देशहरूलाई विपिनको रिहाइका लागि थप पहल गरिदिन राणाले आग्रह गरिरहेकी छन्।

यहीक्रममा मन्त्री डा. राणाले मंगलबार बिहान कतारका विदेश राज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग फोनवार्ता गरेकी छन् । मन्त्री डा. खुलाइफी कतार सरकारका तर्फबाट हमाससँगको शान्तिवार्ताका लागि प्रमुख वार्ताकार एवम् मध्यस्थकर्ता छन् ।

मन्त्री डा. राणाले कतारका मन्त्री डा खुलाइफीसँगको फोनवार्तामा हमासले आफ्नो नियन्त्रणमाकामध्ये केही बन्दीलाई अपहरणमुक्त गर्न लागेको समाचार आएकाले विपिनको रिहाइमा विशेष पहल गरिदिन आग्रह गरेकी हुन् ।

मन्त्री डा. राणाले कतार नेपालको सदैव हितैषी मित्रराष्ट्र रहेको प्रसङ्ग उल्लेख गर्दै कतारले हमाससँगको सम्पर्कमा रहेर शान्ति वार्ताका लागि युद्धविराम गराउन विशेष पहल गरिरहेकाले नेपाली युवा विपिनको रिहाइका लागि पनि पहल गरिदिन अपिल गरिन् ।

कुराकानीका क्रममा कतारका मन्त्री डा. खुलाइफीले हमासलाई इजरायलसँग युद्धविराममा ल्याउने विषय सकारात्मक रुपमा अघि बढिरहेको जानकारी गराउँदै अपहरणमा परेकाको मुक्तिका लागि कतार सरकारले पहल गरिरहेको जवाफ दिए ।

कतारका मन्त्री डा खुलाइफीले नेपाली युवा विपिनको रिहाइलाई अपिल गर्ने कुरा पनि आफूहरूले प्राथमिकतामा राखेको बताए ।

पहिलो चरणमा उनीहरूले केही बन्दी रिहा गर्ने सूचना दिएकाले सकेसम्म त्यसमै, सम्भव नभएमा बाँकीको रिहाइका क्रममा विपिन अपहरण मुक्त हुनेमा आफू विश्वस्त रहेको बताए ।

यसअघि मन्त्री डा. राणाले इजिप्ट सरकारलाई पनि विपिनको रिहाइमा सहयोग गरिदिन आग्रह गरेकी थिइन् । इजिप्ट सरकार पनि हमासको सम्पर्कमा रहेर युद्धविरामका लागि पहल गरिरहेको छ ।

गत हप्ता उनले नेपालका लागि इजिप्ट र कतारका राजदूतमार्फत् दुवै देशसँग विपिनको रिहाइका लागि विशेष पहल गरिदिनका लागि आग्रह गरेकी थिइन् ।

सम्बन्धित समाचार