जनकपुरधाम – पछिल्लो समय मन्त्री भएपछि विकास निर्माणको आवश्यकता र प्राथमिकता भन्दा आफ्नो निर्वाचन क्षेत्रमा अर्बाैको बजेट लाने प्रवृत्ति मौलाएको छ । तर, लाखौं नागरिकको हितका लागि गर्नुपर्ने विकासका काम नेतृत्व र मन्त्रीहरूको नजरमा पर्दैन । यसको प्रत्यक्ष उदाहरण हो धनुषा र सिरहाको सिमाना भएर बग्ने कमला नदीको पुल । पुल अभावमा यस क्षेत्रका स्थानीयले पुस्तौदेखि भोग्दै आएको पीडा अझै उस्तै छ ।
मधेस प्रदेशको ‘लाइफ लाइन’ मानिने कमला पुल चार सय ७० मिटर लामो छ । पूर्व पश्चिम हुलाकी राजमार्ग अन्तर्गत धनुषा र सिरहाको सिमाना भएर बग्ने कमला नदीमा १३ वर्ष अघि सुरु भएको पुल निर्माणको काम अझै पुरा हुन सकेको छैन । पुल अभावमा यस भेगका नागरिकलाई आउजाउ गर्न डुंगाको सहारा लिनुपर्ने बाध्यता छ भने हिउँदमा अस्थायी बाँसको पुलको भर छ ।
विसंं २०६८ जेठ ३१ मा ४२ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी पप्पु–लुम्बिनी जेभीसँग ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता भएपछि तत्कालीन भौतिक पूर्वाधार मन्त्री हृदयेश त्रिपाठीले २०६८ साल मंसिरमा उक्त पुलको शिलान्यास गरेका थिए । सम्झौता भएको सात वर्षसम्म पनि पुल निर्माण नभएपछि हुलाकी राजमार्ग सडक निर्देशनालयले उक्त निर्माण कम्पनीसँग ठेक्का तोडेर निर्माणको जिम्मा लुम्बिनी बिल्डर्सलाई दिएको थियो ।
बिल्डर्सको कमान्डमा निर्माण अन्तिम चरणमा पुगिसकेपछि विसं २०७८ साउनमा उद्घाटनको तयारी गरिएको थियो । तर उद्घाटन नहुँदैको अवस्थामा पुल भासिएको थियो । १३ पाया (पिलर) र १२ स्पान (स्ल्याब) रहेको पुलको सिरहातर्फको दोस्रो र धनुषातर्फको चौथो पाया भासिएको थियो । निर्माणको क्रममा कमशल सामाग्रिको प्रयोगका कारण पुल भाँसिएको स्थानियको आरोप छ ।
हुलाकी राजमार्ग लगभग तयारी अवस्थामा पुगेपनि लामो समयसम्म कमला पुल निर्माण नभएपछि त्यसको प्रत्यक्ष मार यहाँको विकास निर्माणमा समेत परेको छ । यस भेगका बासिन्दाको जीवनपद्धति नै संकटमा परेको छ । बाढीको बेला असार–साउनमा सिरा र धनुषाको सम्बन्ध नै विच्छेद हुन पुग्छ ।
कमला नदीमा पुल नबन्दा जनकपुर–सिरहाको दूरी छोटिन सकेको छैन । सिरा सदरमुकामबाट मधेस प्रदेशको राजधानी जनकपुरधाम मात्र ४० किलोमिटर दुरीमा छ । तर कमला पुल नबन्दा महेन्द्र राजमार्ग भएर जनकपुरधाम पुग्नुपर्ने बाध्यता छ । महेन्द्र राजमार्ग भएर आवतजावत गर्दा करिब एक सय किलोमिटरको दुरी तय गर्नुपर्ने सिरा र धनुषावासीको बाध्यता छ ।