तनहुँ । उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले संस्कृति र पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि सबै एकजुट हुनुपर्ने बताउनुभएको छ । तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजना तथा दमौली बजार इकाईको सहआयोजनामा तनहुँको सदरमुकाम दमौलीमा बिहीबारबाट सुरु भएको नवौं तनहुँ कृषि पर्यटन तथा प्रविधि महोत्सवको उद्घाटन गर्नुहुँदै मन्त्री सिंहले सो कुरा बताउनुभएको हो ।
नेपाल सुन्दर देश र संस्कृतिको धनी भएकाले पर्यटकलाई आकर्षित गरी रोजगारी सिर्जना गर्न सकिने हुँदा सबै मिलेर प्रवर्द्धन गर्नुपर्ने बताउनुभयो । नेपाल सरकारले पर्यटकीय क्षेत्रको प्रवर्द्धन र विकासका लागि वर्तमान सरकार जुटिरहेको उल्लेख गर्नुहुँदै उपप्रधानमन्त्री सिंहले नीजि यस्ता स्तरले समेत लगानी गर्न आवश्यक रहेको बताउनुभयो ।
पर्यटन प्रवर्द्धन र विकासमा सङ्घ सरकारले लिएको नीतिलाई सफल बनाउन प्रदेश तथा स्थानीय सरकारको समेत महत्त्वपूर्ण भूमिका रहने उपप्रधानमन्त्री सिंहको भनाइ छ । देशका धेरै स्थानमा व्यवसायिकको नेतृत्वमा महोत्सव भइरहेको उल्लेख गर्नुहुँदै सिंहले अर्थतन्त्र चलायमान गराउन मद्दत पुगेको बताउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य अशोककुमार श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, महोत्सवका निर्देशक पविन्त्रकुमार श्रेष्ठ, तनहुँ उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष इमकुमार मल्ल, महासचिव सुवोध अधिकारी लगायतले कृषि उपज र व्यापारिक सामग्री खरिद बिक्री एवम् सस्कृतिको संरक्षणका लागि महोत्सव फलदायी हुने हुँदा यस्ता महोत्सवलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको थियो ।
किसानका लागि निशुल्क स्टल र निःशुल्क ढुवानीका लागि पालिकासँग समन्वय गरिएको उहाँले जानकारी दिनुभयो । महोत्सवमा दुई सय वटा स्टलहरु छन् । स्थानीय कृषि उपज, हस्तकला, कपडा, भान्सामा प्रयोग गरिने सामग्री, खानाका परिकारसहितका स्टल रहेको स्टलका संयोजक तथा सह आयोजक तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार इकाईका सभापति सुकनारायण मल्लले बताउनुभयो । दैनिक राष्ट्रियस्तरका कलाकारको उपस्थितमा विभिन्न सांस्कृतिक कार्यक्रमसमेत हुने आयोजकले जानकारी दिएको छ ।