कावासोती । नवलपुरका किसान तरुल खन्न र बिक्री गर्न व्यस्त छन् । माघेसङ्क्रान्तिमा तरुल खाने प्रचलन रहेकाले पर्व नजिकिँदै जाँदा जिल्लामा तरुलको माग बढ्दो छ ।
चार पाँच दिनदेखि जिल्लाको कावासोतीमा रहेको कृषि थोक बजारमा तरुलको व्यापार पनि निकै फस्टाएको छ । पहिले नवलपुरमा उत्पादित तरुल काठमाडौं लगेर बिक्री गर्नुपर्ने अवस्था रहेपनि केहि वर्षअघिबाट व्यापारीहरु कावासोतीमै आएर खरिद गरेर लाने गरेका छन् ।
विशेषगरि पहाडि क्षेत्र बुलिङटार गाउँपालिकाको अर्खला, राइकोट, देउराली, भारतीपुर, भदौरी, जौवारी, बौदिकाली गाउँपालिकाको ववक, रुचाङ, नगरडाडा र हुप्सेकोट गाउँपालिकाको रुम्सी, चारघरे लगायतका क्षेत्रमा सबैभन्दा बढी तरुल उत्पादन हुने र दैनिक रुपमा कावासोती ल्याउने गरेको कृषि थोक बजार व्यवस्थापनका अध्यक्ष लेखनाथ बस्यालले बताउनुभयो ।
जिल्लामा उत्पादन भएको तरुल हालसम्म काठमाण्डौ र पोखरामा १५ टन व्यापारीले लगिसकेको र बाँकी लाने तयारीमा रहेको बस्यालले बताउनुभयो ।
विगत नौ वर्षदेखि बुलिङटार गाउँपालिका राइकोटका कृष्ण बहादुर सारुले सदरमुकाम कावासोतीमा तरुलको व्यापार गर्दै आउनुभएको छ । सिजनमा तरुल व्यापार बाट राम्रो आम्दानी भएपछि सारुले गाउँबाट तरुल खरिद गरि कावासोतीमा वेच्ने गर्नु भएको छ । कावासोतीमा तरुल थोक बिक्रेताका रूपमा काम गर्दै आउनुभएका व्यवसायी सारुले पहाडी क्षेत्रबाट दैनिकजसो करिब १० क्विन्टल तरुल कावासोतीमा मात्रै आउने गरेको बताउनुभयो । गत वर्ष आफुले २० टन तरुल विक्रि गरेको उहाँको भनाइ छ ।
धादिङ निलकण्ठ नगरपालिका वडा नं ५ का नबिन ढुङगानाले हात्ती पाइले तरुल खरिद गर्न नवलपुरको कावासोती आएको बताउनुहुन्छ । गत वर्ष नवलपुरमा ५५ मट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
नवलपुरको अरुणखोला, झ्यालबास, जुकेपानी, कावासोती, दलदले लगायतका क्षेत्रका व्यापारीहरुल तरुण नवलपुरबाट बाहिर पठाएको नवलपुरका तरुल व्यापारी लालबहादुर सारुले बताउनुभयो । जिल्लाको स्थानीय बजार कावासोती, डण्डा दलदले प्रगतिनगर, रजहर, गैँडाकोट, चोरमारा, अरुणखोला, दुम्किबास लगायतका बजारहरुमा तरुल विक्री हुने गरेको छ । यहाँ मोडे तरुल, वन तरुल, सकरखण्ड जस्ता तरुल सबैभन्दा बढी विक्री हुने गर्दछ । अहिले नवलपुरमा स्थानीय बजारमा हात्तीपाइले तरुल ८० रुपियाँ प्रति किलो, वन तरुल १ सय ४० रुपियाँ प्रति किलो, चक्रे तरुल ८० रुपियाँ प्रति किलो र ठूला तरुल अर्थात मुठे तरुल १ सय रुपियाँ धार्नी विक्री भएको सारुले बताउनुभयो ।