काठमाडौं । १५ पुस आइतबार सय वर्षको उमेरमा निधन भएका अमेरिकाका ३९औं राष्ट्रपति जिम्मी कार्टरले १० वर्षसम्म सशस्त्र युद्धमा रहेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका खेलेका थिए । माओवादीलाई अमेरिकाले आतंककारी संगठनको सूचीमा राखिरहँदा कार्टरले माओवादीका नेताहरूसँग संवाद गरेका थिए ।
माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनुपर्छ भन्नेमा कार्टरको जोड थियो । माओवादी सशस्त्र द्वन्द्व चलिरहँदा उनको संस्था कार्टर सेन्टरले शान्ति प्रक्रियामा सघाउने उद्देश्यले आफ्नो गतिविधि थालेको थियो । माओवादीलाई शान्ति प्रक्रियाको मूलधारमा ल्याउन सकिन्छ भन्ने कार्टरमा विश्वास थियो ।
माओवादी शान्ति प्रक्रियामा आएपछि संविधानसभा निर्वाचनका लागि पनि कार्टरले भूमिका खेले । सन् २००८ मा भएको पहिलो संविधानसभा निर्वाचनमा उनले पर्यवेक्षण गरेका थिए । त्यसपछि दोस्रो संविधानसभा निर्वाचनमा पनि उनले पर्यवेक्षणको भूमिका निर्वाह गरे । संविधानसभा निर्वाचन हुने कि नहुने भन्ने अन्योलपूर्ण समयमा अमेरिकाबाट कार्टर एक वर्षमा तीनपटक नेपाल भ्रमणमा आएका थिए ।
त्यसपछि माओवादी नेता र तत्कालीन ठूला राजनीतिक दलसँग निरन्तर संवादमा जुटे । राजाको सक्रिय शासन समाप्तिसँगै संविधानसभाको निर्वाचन भयो । जसलाई उनले प्रत्यक्ष रूपमा नजिकबाट हेर्ने मौका पाए । माओवादीलाई अमेरिकाले आतंकवादी सूचीमा राखेर पत्राचारसमेत गर्न प्रतिबन्ध लगाएका बेला उनले माओवादीका नेतासँग संवाद गरेका थिए ।
२२ नोभेम्बर २००७ का लागि तोकिएको संविधानसभाको निर्वाचन स्थगित भएपछि पूर्वराष्ट्रपति कार्टर तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, माओवादी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका नेता माधवकुमार नेपालको संयुक्त निम्तोमा काठमाडौं आएका थिए ।
संविधानसभाको निर्वाचनअघि राजतन्त्रको अन्त्य गर्ने कि पछि भन्ने अन्योलपूर्ण अवस्थाका कारण नेपाली राजनीति धमिलो बनिरहेको थियो । माओवादी संविधानसभाको निर्वाचनअघि राजतन्त्र अन्त्यको घोषणा गरेर अघि बढ्ने पक्षमा थियो भने अन्य राजनीतिक दल भने संविधानसभाको निर्वाचनपछि वैधानिक हिसाबमा राजतन्त्रको अन्त्य गर्ने पक्षमा थिए । साथै, संविधानसभाको निर्वाचनमा प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीको विषयमा के गर्ने भन्ने अन्योलता र विवाद थियो ।
यता, तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला भने माओवादीले चाहे पनि नचाहे पनि निर्वाचनको मिति तोकेर अघि बढ्ने पक्षमा रहेको जिमी कार्टरले आफ्नो अनुभव लेखेका थिए । अर्कोतर्फ प्रधानसेनापति रुक्मांगत कटुवाल राजासँग नजिकिएका देखिए पनि प्रधानमन्त्री कोइरालाको आदेश सेनाले पालना गर्ने उनले लेखेको अनुभवमा समेटिएको छ ।
कार्टरले सन् २००७ मा संविधानसभाको साधारण बहुमतले अनुमोदन गर्नेगरी अन्तरिम संसद्ले गणतन्त्र घोषणा गर्न सक्ने र संविधानसभाको कुल सिट संख्याको ७० प्रतिशत समानुपातिक र ३० प्रतिशत प्रत्यक्ष चुनिने निर्वाचन प्रणाली अवलम्बन गर्न सुझाव दिएका थिए । त्यसबेला पहिलो संविधानसभाको बैठकको साधारण बहुमतले राजतन्त्र अन्त्यको घोषणा गर्नेगरी ६० प्रतिशत समानुपातिक र ४० प्रतिशत प्रत्यक्ष अनि २६ जना मन्त्रिपरिषद्ले मनोनीत गर्नेगरी ६ सय १ जना सदस्य रहेको संविधानसभाको निर्वाचन गर्न दलहरूबीच सहमति भएको थियो । आजको राजधानी दैनिकबाट