काठमाडौं – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को फाइनलमा स्थान बनाउँन जनकपुर बोल्ट्सले कर्णाली याक्सबाट सामान्य लक्ष्य पाएको छ ।
जारी दोस्रो क्वालिफायर खेलमा जनकपुरले कर्णालीबाट १ सय १९ रनको लक्ष्य पाएको हो । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १८ रनको सामान्य योगफल तयार गर्यो ।
कर्णालीका लागि गुलशन झाले सर्वाधिक २५ रन जोडे । उनले २० बलमा १ चौका र २ छक्का प्रहार गरे । ओपनर देव खनालले २० बलमा ३ चौका र १ छक्काको सहयोगमा २४ रन जोडे । देव जेम्स निशमको बलमा आकाश त्रिपाठीद्वारा समातिए ।
विलियम बोसिस्टोले १५ बलमा १ चौकाको सहयोगमा १४ रन जोडे । बोसिस्टो ललितनाराण राजवंशीको बलमा विकेट किपर लाहिरु मिलन्थाबाट समातिए । जिशान मक्सुद ११ बलमा २ चौकाको सहयोगमा १२ रन जोडे । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । कप्तान सोमपाल कामी ५, अघिल्लो खेलमा अर्धशतक बनाएका जयकिशन कोल्सावाला १ तथा अर्जुन घर्ती २ रनमा आउट भए ।
युनिस विक्रमसिंह ठकुरी १२ रनमा आउट हुँदा नन्दन यादव ४ रनमा नट आउट रहे । जनकपुरका लागि जेम्स निशम, मोहम्मद मोहसिन र ललितनारायण राजवंशीले समान २ तथा हर्ष ठाकर र शेर मल्लले समान १ विकेट लिए । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको जनकपुरले फाइनल प्रवेशका लागि अर्को अवसर पाएको हो । पहिलो क्वालिफायरको विजेता बन्दै सुदूरपश्चिमले भने फाइनलमा स्थान पक्का गरिसकेको छ ।
कर्णालीले भने बुधवार भएको इलिमिनेटर खेलको विजेता बन्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो । कर्णालीले इलिमिनेटर खेलमा चितवन राइनोजमाथि २१ रनको जित हात पारेको थियो । कर्णाली र जनकपुरबीचको विजेताले फाइनलमा सुदूरपश्चिमसँग उपाधीको लागि खेल्नेछ । पराजित टोली भने प्रतियोगिताबाट बाहिरिने छ ।
लिगचरणको भेटमा कर्णाली जनकपुरसँग ८ विकेटले विजयी भएको थियो । फाइनल खेल शनिवार हुनेछ ।