काठमाडाैं - राष्ट्रिय मानव अधिकार आयोगले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्त बहादुर कुँवरलाई छलफलका लागि बोलाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि प्रहरीले दुर्व्यवहार गरेको उजुरी परेपछि सोधपुछका लागि कुँवरलाई बोलाइएको आयोगका सहप्रवक्ता श्यामबाबु काफ्लेले लोकान्तरलाई बताए ।
लामिछानेलाई जिल्ला प्रहरी कार्यालय चितवनबाट पोखरा लैजाँदा दुर्व्यवहार गरेर लगेको आरोपसहित उनकी पत्नी निकिताले आयोगमा उजुरी गरेकी थिइन् । रास्वपाले समेत आयोगमा उजुरी दिएको छ ।
उजुरीमा मापसे गरेका प्रहरीले लामिछानेलाई उठाएको र बिहान जहाजमार्फत पुर्याउन अनुरोध गरे पनि गाडीमै लगिएको आरोप लगाएकी छिन् ।
तर, चितवन प्रहरीले भने आइतबारै विज्ञप्ति जारी गरेर यसको खण्डन गरिसकेको छ । आईजीपी कुँवर भने सोमबार कर्णाली प्रदेशको सुरक्षा भेलामा गृहमन्त्री रमेश लेखकसँगै सुर्खेत पुगेका छन् ।
सहकारी ठगी प्रकरणमा रास्वपा सभापति गत कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा छन् ।