काठमाडौँ । नेकपा एमालेले दरबारमार्गमा कार्यक्रम गर्दा जथाभाबी फोहोर गरेर वातावरण प्रदूषण गरेको भन्दै काठमाडौँ महानगरपालिकाले १ लाख रुपैयाँ जरिवानाको निर्णय गर्यो ।
यतिमात्रै होइन एमालेले कार्यक्रममा गरेको फोहोर संकलनको अवस्थाबारे सो क्षेत्रको फोहोर व्यवस्थापनको जिम्मा लिएको कम्पनीलाई समेत महानगरपालिकाले सोधेको पाइएको छ । महानगरले लिखित पत्राचार गर्दै दरबारमार्ग क्षेत्रको फोहोर व्यवस्थापनको जिम्मेवारी पाएको ‘क्लिन काठमाडौँ वेस्ट मेनेजमेन्ट’बाट एमालेको कार्यक्रमको भोलिपल्ट फोहोर संकलन गरिएको विवरण माग गरेको हो ।
सो अनुसार मेनेजमेन्टले बुधबार जवाफी पत्र पठाएको महानगरको वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राईले पुष्टि गरिन् । उनले भनिन्, ‘हामीले यसबारे सोधेका थियौँ । आज जानकारीसहितको पत्र प्राप्त भएको छ ।’
पत्रअनुसार मंसिर ८ गते दरबारमार्ग क्षेत्रमा फोहरमैला व्यवस्थापनका लागि सधैझैँ बिहान ४ बजेदेखि सफाइकर्मी परिचालन गरिएको उल्लेख छ ।
पत्रमा सार्वजनिक संवेदनशीलता भएका स्थानहरूबाट कागज, प्लास्टिक, खानेकुराका अवशेष, मिनरल वाटरका बोतल, राजनीतिक झण्डा, चुरोटका ठुट्टा, बिरुवाका हाँगा, तथा पूर्वराजा महेन्द्रको शालिकमा भेटिएका ८८४८ ब्रान्डका रक्सीका बोतल र यत्रतत्र छरिएका बियरका क्यानहरू संकलन गरिएको उल्लेख छ ।
जानकारी पत्रमा भनिएको छ, ‘सार्वजनिक संवेदनशीलता भएका स्थानहरूमा बदामका बोक्रा, चटपटे बनाउने क्रममा प्रयोग भएका कागज, प्लास्टिक, खानेकुराका अवशेष, मिनरल वाटरका बोतल, राजनीतिक झण्डा, चुरोटका ठुट्टा, बिरुवाका हाँगा, तथा पूर्वराजा महेन्द्रको शालिकमा भेटिएका ८८४८ ब्रान्डका रक्सीका बोतल र यत्रतत्र छरिएका बियरका क्यानहरू संकलन गरिएको जानकारी गराउन चाहन्छौँ ।’
फोहोर संकलन कार्य गोल्डेन टिभी, दरबारमार्ग ट्राफिक प्रहरी तथा काठमाडौँ महानगर प्रहरीको निगरानीमा सम्पन्न गरिएको समेत पत्रमा उल्लेख छ । ‘हाम्रो कम्पनीका कर्मचारीहरूले ६।७५ टन क्षमताका ट्रिपरहरू प्रयोग गरी २ ट्रक फोहरमैला संकलन गरी बञ्चरे ल्यान्डफिल साइटमा ढुवानी गरेका थिए’, पत्रमा भनिएको छ ।