काठमाडौं- फेसबुकमा नक्कली आइडी बनाएर युवतीलाई लाखौं ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तनहुँ आबुखैरेनी गाउँपालिका वडा नम्बर ५ घर भएका रुद्रबहादुर गुरुङ रहेका छन्।
काठमाडौं चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ हाइभिजनमा बस्दै आएका गुरुङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।
गुरुङले एक युवतीलाई फेसबुकमा नक्कली आइडी बनाएर २७ लाख ८३ हजार २०० रुपैयाँ ठगी गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए।
उनका अनुसार गुरुङले आफू फ्रान्स र सिंगापुरको लाहुरे रहेको भन्दै ती युवतीसँग चिनजान गरेका थिए। लाहुरेको कमाई आकर्षक हुने भएकाले गण्डकी प्रदेशकी ती युवती लोभिइहालिन्।
‘तिमीलाई मन पराउँछु, बिहे गरेर सिंगापुर लैजान्छु, सिंगापुर लैजानका लागि कागजातहरू बनाउनुपर्छ,’ गुरुङलाई उद्धृत गर्दै प्रहरी उपरीक्षक आचार्यले भने, ‘त्यसबापत पैसा लाग्छ।’
गुरुङले ती युवतीलाई काठमाडौं र चितवनका विभिन्न स्थानमा बोलाएका थिए। आफ्नो हुलिया एवम् परिचय परिवर्तन गरी उनले चेक तथा नगद १६ लाख ८३ हजार ६०० असुले। आजको राजधानी दैनिकबाट