काठमाडौं । अन्ततः नेकपा एमाले विभाजन हुने निश्चित भएको छ । अध्यक्ष केपी शर्मा ओलीको टाङमुनी नछिर्ने भन्दै वरिष्ठ नेता माधवकुमार नेपालले विद्रोहको संकेत गरेका छन् । ओलीले नेपाललाई कुनै स्थान नदिने गरी विधान महाधिवेशनको घोषणा गरी सांगठनिक हेरफेरको प्रस्ताव तयार गरिसकेका छन् । यसले ओली आफ्नो बाटोमा बढेका छन् । माधव नेपाल नयाँ ढंगले बढ्ने भएका छन् । नेपालले साहसका साथ तयार हुन निकटस्थलाई भनिसकेका छन् ।
नेपाल समूहले केन्द्रीय कमिटी सदस्य र सांसद सदस्य निश्चित गरी भावी कदम तय गर्ने तयारी गरेको छ । त्यसका लागि जतिसक्दो धेरै केन्द्रीय कमिटी सदस्य र सांसद संख्या बनाउन दौडधूप चलेको छ । हस्ताक्षर तयार छन् । अब त्यसैका आधारमा अध्यादेशमार्फत् एमाले फुटमा जानसक्ने देखिएको छ । उता एमाले अध्यक्ष ओली शक्तिशाली बन्ने गरी विधान संशोधनमा बढिसकेका छन् । उनले माधव नेपाल पक्षलाई एमालेभित्र स्थान नदिने गरी बढेको देखिएपछि चाँडै विवाद पार लाग्ने गरी कदम चाल्ने तयारी भएको हो ।
माधव नेपाल पक्ष मध्यस्थकर्ताको भूमिका निभाउँदै आएका भीम रावल, सुरेन्द्र पाण्डेलगायतको निर्णय केही समय कुर्ने र अगाडि बढ्ने गरी तयारी अवस्थामा छ । केन्द्रीय कमिटी र सांसद संख्यालाई हेरेर विभाजनको लागि अध्यादेशको वातावरण तयार गर्न लागिएको छ । नेपाल पक्षमा नवौं महाधिवेशनको निर्वाचितमध्ये ४० प्रशितशत केन्द्रीय सदस्य छन् । सांसद संख्या भने ३० को हाराहारीमा रहेको छ । यसैका आधारमा विभाजन सहज बनाउने गरी अध्यादेश आउन सक्ने बुझिएको छ ।
यसैगरी, एमाले विभाजन भएपछि ओली पक्षको सुर्य चिन्ह यथावत् हुने निश्चित छ । माधव नेपाल समूहले भने कुन चिन्ह लिने चासोको विषय बनेको छ । यसअघि नेपाल समूहका युवा नेता जीवन राईले नेकपा एकीकृत दर्ता गरी कलम चिन्ह लिएकाले त्यसैलाई अद्यावधिक गरेर नेपाल अगाडि बढ्ने चर्चा पनि छ । कलम चिन्हबाट खिमलाल देवकोटा माधव नेपाल समूहबाट राष्ट्रिय सभामा चुनाव लड्न पुगेका थिए । उनले जीत पनि हासिल गरे । उदाउँदो सुर्य चिन्ह लिएर फरक दल निर्वाचन आयोगमा दर्ता छ । त्यसैले माधव नेपालले कलम चिन्ह नै तयार गरिसकेको बुझिएको छ ।
यसैगरी, ओलीको दम्भका कारण उनी निकटस्थहरु नै असन्तुष्ट हुन थालेका छन् । सुवास नेम्वाङ, विष्णु पौडेल जस्ता नेताहरु असन्तुष्ट बनेका छन् । उनीहरु पार्टी एकताको पक्षमा छन् । प्रदीप ज्ञवाली पनि ओलीको अहंकारदेखि वाक्कदिक्क भएका छन् । तर, खुलेर बोल्न सकेका छैनन् । ओलीले यसरी नै एमालेलाई क्षति पु¥याउँदै लगे आफ्नैबाट एक्लिदै जाने सम्भावना विकास हुने देखिन्छ ।
धमाधम कित्ताकाट
एमाले विभाजनको संघारमा पुगेपछि निर्णायक कित्ताकाट हुनलागेको छ । यसअघि एकता बचाउन सक्रिय भएका उपाध्यक्ष बामदेव गौतम अध्यक्ष केपी शर्मा ओलीसँगै बढ्न नसकिने निष्कर्षमा पुगेका छन् । उनले सोमबार स्थायी कमिटी बैठकबाट निस्किएर आफू पक्षीय नेताहरुलाई सम्भावित पार्टी विभाजनका लागि तयार रहन निर्देशन दिइसकेका छन् । गौतमले बैठकमै ओलीको चर्को आलोचना गरी कारबाही हुनुपर्ने सम्म भने । त्यसपछि दुवैबीच चर्काचर्की भयो । त्यहाँबाट जुरुक्क उठेर हिंडेका गौतम अपरान्हको केन्द्रीय कमिटी बैठकमा अनुपस्थित भए । उनले ओली एकताको पक्षमा नभएको निष्कर्ष निकाल्दै फरक तरिकाले जानुको विकल्प नभएको भन्दै निकटस्थसँग छलफल बढाएका छन् ।
यसैगरी, एकताका लागि मध्यमार्गी भूमिका निभाउँदै आएका उपाध्यक्ष भीम रावल, सचिवहरु गोकर्ण बिष्ट, योगेश भट्टराई र भीम आचार्य, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे पनि निराश भएका छन् । भुसालले ओली आफ्नै ढंगले बढेकाले सँगै जान नसकिने बताइसकेका छन् । विगतमा माधवकुमार नेपाल पक्षमा रहेर मध्यमार्गी बनेका रावलसहित ६ जना नेताले पनि चाँडै कित्ताकाट गर्ने भएका छन् । भुसाल ओलीसँग नजाने निश्चित प्रायः भएको छ । रावलसहित बाँकी नेताहरुबारे भने अन्यौल छ । योगेश भट्टराई ओली पक्षमै लाग्ने देखिएको छ । भीम रावल पनि ओलीसँग नजिकिएका छन् । तर, उनी स्थायी कमिटी बैठकमा सहभागी भएनन् ।
ओलीले एमसीसी संशोधन गरेर मात्र पास गर्नुपर्ने बताएबाट रावल उत्साही भएका छन् । उनी ओलीसँगै नजिकिने सम्भावना बढेको छ । तर, ओली पक्षको स्थायी कमिटी बैठकमा सहभागी नभएकाले परिस्थिति फरक हुन सक्ने आँकलन गरिएको छ । तर, रावलले ओली पक्षमा महत्वपूर्ण जिम्मेवारी पाउने भएकाले उतै जान सक्छन् । सुरेन्द्र पाण्डे पनि नयाँ दलमा जाने मुडमा देखिएका छैनन् । उनी नेपाल पक्षको बैठकमा पनि सहभागी भएनन् । तर, कोभिड १९ को कन्ट्याक्ट टेष्टमा रहेकाले नगएको भने । नेपाल खेमाबाट एमालेको नवौं महाधिवेशनमा महासचिवको निर्वाचन लडेका पाण्डे अलमलमा छन् ।
गोकर्ण बिष्ट र भीम आचार्य पनि विभाजनको पक्षमा छैनन् । बिष्टले देउवालाई विश्वासको मत पनि दिएनन् । आचार्यले माधव नेपाललाई कुनै हालतमा पार्टी विभाजन गर्न नहुने भनेका थिए । यसकारण उनीहरु नेपालले विभाजनको कदम चालेमा गइहाल्ने सम्भावना कमजोर छ । माधव नेपाललाई छाड्दा पनि राजनीतिक जीवन नै धरापमा पर्ने र सँगै जाँदा पनि समस्यामा पर्ने भएकाले रावलसहित ६ नेता धर्मसंकटमा छन् । एमाले विभाजन हुने निश्चितप्रायः भएपछि नेताहरु कुनै न कुनै कित्तामा जानुपर्ने वाध्यतामा परिसकेका छन् । ओली र नेपाल दुवैको कदमले उनीहरु दबाबमा परेका छन् ।