पोखरा । गण्डकी प्रदेशसभाका सदस्यसमेत रहेका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) अन्ततः जेल चलान भएका छन् । मंगलबार बिहान काठमाडौं सानोभ-याङबाट पक्राउ परेका मनाङेलाई अदालतमा उपस्थित गराएर डिल्लीबजार कारागार चलान गरिएको हो ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले २० कात्तिकमा मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो । सर्वोच्च अदालतले तत्कालीन पुनरावेदन अदालत पाटन (हाल उच्च अदालत)ले गरेको फैसला सदर गर्दै दोषी ठहर गरेको हो । यसअघि तत्कालीन पुनरावेदन अदालत पाटनले ज्यान मार्ने उद्योगमा मनाङेलाई २०६९ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो ।
२०६१ सालमा गुन्डा नाइके मिलन गुरुङ (चक्रे मिलन)को हात काटेको घटनामा उनी मुख्य योजनाकार थिए । यसरी, मनाङेको राजनीतिक यात्रा चलचित्रको कहानीजस्तो भएको छ ।
कुनैबेलाका गुन्डा नाइके उनी विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेको अभियोगमा पटकपटक कारागार नपुगेका होइनन् । ७ वर्षअघि प्रदेशसभा निर्वाचनमा निर्वाचित भएसँगै उनी गण्डकीको सांसद बनेर राजनीतिमा एकाएक उदाए । ६ पटकसम्म मन्त्री पनि बने । प्रदेशसभामा सबैभन्दा बढी मन्त्रीको रेकर्ड बनाएका उनी सर्वोच्च अदालतको पछिल्लो फैसलासँगै फेरि कारागार पुगेका छन् ।
यसपटकको जेलजीवन भने उनका लागि महँगो पर्ने देखिएको छ । प्रदेशसभामा मनाङ १(ख) बाट २०७४ र २०७९ सालको प्रदेशसभा निर्वाचनमा निर्विरोध निर्वाचित उनको प्रदेशसभा सदस्य पद त चैट हुने नै छ, साथै अबका २ वर्ष चार महिना जेलको चिसो छिँडीमा राजनीतिक अवसानको दिनगन्ती पनि सुरु हुनेछ ।
ठेक्कापट्टा तथा असुली धन्दामा कुरा नमिलेपछि २०६१ सालमा गुन्डा नाइके मनाङेको समूहले अर्का गुन्डा नाइके चक्रे मिलनमाथि आक्रमण गरेको थियो । सो आक्रमणमा चक्रे मिलनको हात छिनेको थियो ।
हुरीझैं आए, त्यसरी नै गए
दीपक मनाङेको राजनीतिक यात्रा प्रवेशसँगै उनी प्रदेश सांसद हुँदै मन्त्री पनि बने । तर, उनी बरोबर चर्चामा आइरहे । कहिले एन्फा कास्कीका तत्कालीन अध्यक्ष मिलन गुरुङलाई पिटेर प्रहरी हिरासत पुगे भने कहिले आफ्नै मन्त्रालयका कर्मचारीमाथि हातपात गरेर विवादमा परे ।
स्वतन्त्र हैसियतमा निर्वाचित बनेपछि मन्त्रीको लोभमा कहिले एकीकृत समाजवादी प्रवेश गरे भने कहिले आफू स्वतन्त्रै रहेको दाबी गरिरहे । यति मात्र कहाँ हो र, ६० सदस्यीय गण्डकी प्रदेशसभामा एमाले–कांग्रेस नेतृत्वको सरकारमा स्वतन्त्र हैसियतमा ‘निर्णायक’ संख्या लिएर उनी पटकपटक सत्ताको बुइ चढिरहे र ६–६ पटक सरकारको मन्त्री बने ।
गण्डकीमा हालसम्म चार जना मुख्यमन्त्री (पृथ्वीसुब्बा गुरुङ, कृष्णचन्द्र नेपाली पोखरेल, खगराज अधिकारी र सुरेन्द्रराज पाण्डे) बनेका छन् । चारै जना मुख्यमन्त्रीको क्याबिनेटमा सहजै मन्त्री बन्ने सौभाग्य पाउने मनाङे एक मात्र प्रदेशसभा सदस्य हुन् ।
हालका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा महत्वपूर्ण भौतिक पूर्वाधारमन्त्री बनेका उनी कांग्रेस–एमाले गठबन्धनसँगै एमालेसमेत सरकारमा जाने भएपछि वनमन्त्रीमा धकेलिए । तर, उनले सो मन्त्रालयको कार्यभार सम्हाल्न गएनन् बरु मन्त्री पद बेचिदिन्छु भन्दै मन्त्री बन्न ठूलो रकमको चलखेल हुने विवादास्पद अभिव्यक्तिसमेत दिएर चर्चामा आए । आजको राजधानी दैनिकबाट