छयसट्ठी वर्षअघि नेपालमा चल्थ्यो ढुङ्गेरेल

11.8k Shares

काठमाडौँ - वराहक्षेत्र, कात्तिक २२ गते । यातायात क्षेत्रलाई नवीनतम युगतर्फ लैजाने सम्भाव्यता भएको रेल साढे छ दशकअघि नै नेपालमा चलेको थियो । कोशी किनार र आसपास क्षेत्रमा बसोबास गर्ने नागरिकले इन्जिनको गाडी नदेख्दै छ दशकअघि नै नेपालमा रेल चढेका थिए ।

सुनसरी, सप्तरीको सीमामा पर्ने भीमनगरदेखि धरानको घोपा र चतरासम्म सञ्चालनमा हुने ढुङ्गेरेलमा यात्रा गरेको अनुभव कतिपयसँग अझै ताजै छ तर युवापुस्ताले रेल चलेको देख्न पाएनन् ।

नेपालको पूर्वी क्षेत्रमा रेल गुड्न सक्ने सम्भाव्यतालाई ढुङ्गेरेलको इतिहासले पुष्टि गरेको छ । विसं २०१६ देखि २०४५ सम्म सञ्चालित ढुङ्गेरेल ढुङ्गा ओसार्ने प्रयोजनले सञ्चालन भएको थियो । 

विसं २०११ वैशाख १२ गते (२५ अप्रिल सन् १९५४) मा नेपाल र भारत सरकारबिच भएको कोशी सम्झौतापछि विसं २०१६ देखि कोशी ब्यारेज पुल निर्माण गर्न आवश्यक ढुङ्गा, गिट्टी ढुवानी गर्न रेल चलाइएको थियो । 

गाडीभन्दा पहिल्यै रेल गुड्यो

ढुङ्गा ओसार्नका लागि ल्याइएको रेलबाट कोशी किनार आसपासका बासिन्दा धरानदेखि भीमनगरसम्म आवतजावत गर्ने गरेको जानकारहरू बताउँछन् । चतरादेखि भीमनगरसम्म रेलमै चढेर आवतजावत गर्ने गरेको अनुभव सुनाउँदै ८५ वर्षीय चन्द्रबहादुर कार्कीले उत्साहभावमा भन्नुभयो, “रेलमै चढ्नका लागि भोकतिर्खा नै माया मारेर कुदिन्थ्यो । बसभन्दा पहिला रेल चढियो ।”

४७ किलोमिटरको दुरीमा कोइला र पानीबाट रेल चल्थ्यो । १० भन्दा बढी डब्बामा ढुङ्गा ओसार्ने गरेको रेलमा एउटा ड्राइभर, रातो र हरियो झन्डा बोक्ने एक/एक जना कर्मचारी हुन्थे । धरानको फुस्रेका पहाडबाट घिर्लिङ (रोपवे) को सहायताले ल्याइएका ढुङ्गा रेलवे चोकबाट कामदारले रेलमा ढुङ्गा चढाउने (लोड गर्ने) गर्थे । रेलबाट दैनिक ओसारिएका ढुङ्गा सम्झौता अनुसार ब्यारेज पुल बनाउन भीमनगर ल्याइन्थ्यो ।

प्रकाशपुर धरहरा टोलका ७० वर्षीय नेत्रबहादुर घिमिरेका अनुसार केही यात्रु रेल चढेर आनन्द लिनकै लागि ढुङ्गामाथि बसेर पनि भीमनगर जान्थे । भीमनगरबाट छुट्ने ढुङ्गेरेलको स्टेसन कुशाह, मधुवन, राजाबास, चव्रmघट्टी, चतरा, बाङ्गे, घोपा क्याम्पमा रहेको थियो । भीमनगरबाट छुट्ने रेल खाली हुने भएकाले धरान जाने यात्रु बोकेर जान्थ्यो । फर्कंदा घोपा र चतराबाट डब्बाभरि ढुङ्गा बोकेर फर्किन्थ्यो । आजको गोरखापत्र दैनिकबाट 

सम्बन्धित समाचार