काठमाडौँ - सरकार सहकारी ठगी प्रकरणमा फरार गीतेन्द्र बाबु (जिबी) राईलाई नेपाल ल्याउने वातावरण निर्माणमा लागिपरेको छ। मलेसियामा रहेका राईलाई ल्याउन त्यहाँको सरकारसँग पारस्परिक सहयोग आदानप्रदानका लागि वातावरण तयार पार्ने कार्य भइरहेको बताइएको छ । राईलाई नेपाल ल्याउन सरकारले यसअघि गरेका अनेकन् प्रयास असफल भए पनि नेपाल प्रहरीले मलेसिया प्रहरीसँग समन्वय गर्न एसपी नरहरि रेग्मीलाई त्यता पठाएको थियो।
केपी ओलीको नेतृत्वमा वर्तमान सरकार बनेपछि गृह मन्त्रालयकै निर्देशनमा एसपी रेग्मीलाई मलेसिया पठाइएको थियो। एसपी रेग्मीसँग एक कनिष्ठ प्रहरी कर्मचारी पनि मलेसिया पुगेका थिए।उनीहरू दुई जनाले राई र उनको अवस्थाबारे मलेसिया प्रहरीसँग कुराकानी गर्दा नेपालमा रहेका मलेसियाली नागरिकले विगतमा भोगेका समस्या र नेपाल सरकारले गरेको असहयोगबारे कुरा उठेको थियो । नेपाल प्रहरीको उच्च स्रोतले दिएको जानकारीअनुसार अहिले भने यो विषय सहज बन्दै गएको छ। क्वालालम्पुरकी ५७ वर्षीया माला भेल्लो १० वर्षअघि नेपाल आएपछि जेल परेकी थिइन् । मलेसिया सरकारले फिर्ता गर्न परराष्ट्रमार्फत पहल गरेको थियो।तर सरकारले त्यसलाई बेवास्ता गरेको विषयमा मलेसियाले गम्भीर रूपमा लिएको एसपी रेग्मीको टोलीलाई बताएको थियो।
स्रोतका अनुसार वैदेशिक रोजगारीका लागि बाराबाट मलेसिया पुगेका बाराका विश्वेश्वर महराले प्रेम विवाह गरी माला भेल्लोलाई नेपाल ल्याएका थिए।महराले भिजिट भिसामा ल्याएर पनि विवाह दर्ता नगरी उनलाई बेवारिसे बनाएर छाडेपछि उनी समस्या परेकी थिइन्। मलेसिया प्रहरीले यो विषयलाई मानव बेचबिखनसँग जोडेको थियो।‘मानव तस्करी गरी लगेकी महिलालाई सरकारले ल्याउन खोज्दा दिएन । त्यतिबेला मलेसिया प्रहरीले सहयोग पाएन,’ उनीहरूको गुनासो थियो। तर अहिले यो गुनासो सम्बोधन भइसकेको गृह मन्त्रालय स्रोतले जनाएको छ।
मलेसियाबाट फर्किएका महराले माला भेल्लोलाई दुई वर्षसम्म काठमाडौंमा सँगै राखेका थिए । तर मालालाई थाहै नदिईकन महरा दुबई गएपछि उनी बेवारिसे बनेकी थिइन्।त्यसक्रममा उनको भिसाको अवधि पनि सकिएको थियो।उनले आफ्नो देश फर्किन खोजे पनि भिजिट भिसाको समय सकिएपछि अध्यागमन विभागले उनलाई करिब २७ लाख जरिवाना मागेको थियो।त्यो पैसा तिर्न नसक्दा विभागले उनलाई कारागार पठाएको थियो।मालाले पनि नेपालमा रहेको मलेसियाली दूतावासमार्फत सहयोग मागेकी थिइन् । मलेसिया सरकारले नेपालको परराष्ट्र मन्त्रालयमार्फत सहयोग खोजेको थियो।तर सरकारले त्यसलाई बेवास्ता गर्दा अहिले राई नेपाल ल्याउन अप्ठेरो परेको तथ्य बाहिर आएको छ । स्रोतका अनुसार माला २०१२ मा नेपाल आएकी थिइन् र २०२२ मार्चसम्म उनी बिनाअनुमति नेपाल बसेको भन्दै सरकारले २६ लाख ३८ हजार रूपैयाँ जरिवाना लगाएको थियो । सो रकम मिनाहा गरी उनलाई मलेसिया सरकारले फिर्ता लैजान खोज्दा दिइएको थिएन। आजको नागरिक दैनिकबाट