सङ्कटमा हिउँचितुवा

15.6k Shares

काठमाडौँ । नेपालको हिमाली भेगमा मात्र पाइने हिउँचितुवालाई हिमालकी रानी मानिन्छ । नेपालको हिमाल र हिउँ संरक्षणको मानक भनेकै हिउँचितुवा रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक रामचन्द्र कँडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हिमालको हिउँसँगै मिसिएर बस्छ, हिउँबिना हिउँचितुवाको परिकल्पना गर्न सकिँदैन त्यसैले यसलाई हिमालकी रानी भनिएको हो ।”

उहाँका अनुसार हिउँजस्तै सेतो बिरालो प्रजातिको लजालु प्राणी हिउँचितुवा लोपोन्मुख प्रजातिमा पर्छ । जटिल जलवायुमा बस्ने, सीमित सङ्ख्यामा भए पनि हिमाली प्रणालीको स्वच्छताको सूचक हो हिउँचितुवा । हिमालमा जति धेरै हिउँचितुवा भेटिन्छन् त्यति त्यहाँको पर्यावरण सुरक्षित र स्वस्थ्य छ भन्ने ठानिन्छ तर पछिल्लो समय जलवायु परिवर्तन र वातावरण विनाशसँगै हिमालकी रानी हिउँचितुवाको जीवन सङ्कटमा पर्दै गएकामा भने उहाँ चिन्ता व्यक्त गर्नुहुन्छ । 

महानिर्देशक कँडेलका अनुसार हिमालको हिउँ पग्लँदै जाँदा यसको बासस्थान हिमालको शिरतिर सर्दै छ । अझ तल रहेका सामान्य जातका चितुवाले बढ्दो तापक्रमसँगै माथि उक्लँदै हिउँचितुवाको आहारामाथि कब्जा जमाउन थालेका छन् । 

विभागका प्रवक्ता वेदकुमार ढकालले भन्नुभयो, “हिउँचितुवाको जीवन र नेपालको जलवायु परिवर्तन, तल्लो क्षेत्रको जल, जङ्गल जीविकाको संरक्षणबिच तोड्नै नहुने सम्बन्ध छ ।” 

उहाँका अनुसार मानिससँग हिउँचितुवा कहिलेकाहीँ मात्र आमनेसामने हुन्छ । बाघले जस्तो यसले मान्छेलाई आक्रमण गर्दैन । लुक्दै आफ्नो बाटो लाग्छ । 

हिउँरेखा माथि सर्दै जाँदा माथि उक्लेको हिउँचितुवाले आहारा नपाउने समस्या बढ्दो छ । जायजन्म धेरै भएका बखत फराकिलो क्षेत्रमा विचरण गरे पनि घरबस्ती पसेरै पशुधन खाइदिने स्वभाव हिउँचितुवाको नहुने दाबी उहाँले गर्नुभयो । जलवायु परिवर्तनको असरले सगरमाथालगायतका क्षेत्रमा तिब्बती ब्वाँसो र तल्लो भेगको चितुवा गोठमै पसेर भेडाच्याङ्ग्रा खाइदिने गर्दा त्यसको दोष हिउँचितुवालाई लाग्ने गरेको ढकालले बताउनुभयो । आजको गोरखापत्र दैनिकबाट 

सम्बन्धित समाचार