लगानीका नयाँ क्षेत्र खोज्ने अवसर

10.6k Shares

काठमाडौँ । कोभिड महामारी र रुस–युक्रेन युद्धका कारण करिब दुई वर्षदेखि शिथिल बन्दै गएको भनिएको नेपालको अर्थतन्त्रमा पछिल्लो समय केही फरक सूचक देखिएका छन् । विदेशी मुद्रा सञ्चित बढी हुने, बैङ्क तथा वित्तीय संस्थामा पनि पैसा धेरै हुने तर राजस्व सङ्कलन तथा पुँजीगत खर्च भने न्यून नै रहने अवस्था बलियो बन्दै गएको छ ।

गएका दुई आर्थिक वर्षमा विदेशी मुद्रा सञ्चित नभएर आयात प्रतिबन्धसम्मका उपायसहित कठोर मौद्रिक नीति लिएको नेपाल राष्ट्र बैङ्कले गत मङ्गलबार हालसम्मको इतिहासमै धेरै १६ अर्ब चार करोड अमेरिकी डलर (करिब २१ खर्ब ५२ अर्ब ५३ करोड रुपियाँ) विदेशी मुद्रा सञ्चित भएको आँकडा सार्वजनिक गरेको छ ।

विगतमा मूल्य वृद्धि नियन्त्रणको उपायका रूपमा बैङ्क तथा वित्तीय संस्थाको ब्याजदर उच्च बनाउने नीति केन्द्रीय बैङ्कले अख्तियार गर्दा मागमा सङ्कुचन आएको थियो । पछिल्ला केही महिनामा यो अवस्था फेरिएको छ । बैङ्क तथा वित्तीय संस्थामा लगानीयोग्य पुँजी पर्याप्त रहेको तर ऋणको माग सिर्जना भने हुन सकिरहेको छैन । फलस्वरूप केन्द्रीय बैङ्कले विभिन्न मौद्रिक उपरकणमार्फत बजारबाट रकम खिच्नु परिरहेको छ । बिहीबार मात्रै राष्ट्र बैङ्कले एक खर्ब रुपियाँ निक्षेपका रूपमा आफैँले सकार्दै छ ।

लगानीयोग्य रकम पर्याप्त हुँदा पनि बैङ्कहरूले नयाँ तथा आक्रामक लगानीको सम्भावना नदेखेको कुरा घट्दो ब्याजदरको ग्राफले पनि पुष्टि गर्छ । असोजमा १० वाणिज्य बैङ्कले ब्याजदर घटाएका थिए । 

कात्तिकका लागि पनि १० वटा बैङ्कले ब्याजदर घटाएका छन् भने अधिकांशले स्थिर राखेका छन् । कात्तिकका लागि सार्वजनिक भएको नयाँ ब्याजदर अनुसार मुद्दती निक्षेपको औसत ब्याजदर ६.१८ मा झरेको छ, जुन असोजमा ६.३८ थियो । निक्षेपको ब्याज कम हुँदा आधारदर कम हुन जाने र सोही अनुसार कर्जाको ब्याज पनि सस्तो हुँदै जान्छ । यो आँकडा अनुसार अधिकांश कर्जाको ब्याज एकल अङ्क आसपासमै आइसकेको छ । आजको गोरखापत्र दैनिकबाट 

सम्बन्धित समाचार