विश्वरेकर्ड बनाउँदै सिसापाङमामा नेपालको झन्डा फहराउने गाइडहरू ....

12.7k Shares

काठमाडौँ । विश्व रेकर्ड कायम गर्दै नेपाली शेर्पा आरोही र आरोही गाइडहरूले चीनको तिब्बतमा रहेको विश्वको १४औँ अग्लो हिमाल सिशापाङ्माको चुचुरोमा नेपाली झन्डा फहराउन सफल भए । अन्तर्राष्ट्रिय पर्वतारोही पथ प्रदर्शक दावा याङ्जुम शेर्पा सहितको टोलीले चुचुरोमा पुगेर बाजी मार्नुभयो । 

त्यसै गरी मिङमा ग्याल्जे शेर्पा र निर्मल पुर्जाले विना अक्सिजन आठ हजार मिटर माथिका १४ वटै हिमाल आरोहण गरी नयाँ विश्व रेकर्ड बनाउनु भएको छ । यता आरोही गाइड पासाङ तेन्डी शेर्पा, दावा ग्याल्जे शेर्पा, पासाङ नुर्वु शेर्पा, मिङतेम्वा शेर्पा, निमा रिञ्जी शेर्पा र तेजन गुरुङले आठ हजार मिटर माथिका १४ वटै हिमाल आरोहण गर्नु भएको छ । “धेरै विदेशी आरोहीहरुलाई पछि पारेर पहिलो नेपाली महिलाको कीर्तिमान बनाउँदा एकदमै खुसी छु”, पर्वतारोही दावा याङ्जुम शेर्पाले भन्नुभयो, “चीन, रसिया, ताइवान, अमेरिका, बेलायतलगायतका धेरै आरोहीसँग प्रतिस्पर्धा गरेर महिला आरोहीले उनीहरूभन्दा चाँडो आफ्नो मुलुकको झन्डा फहराउन पाउँदा छुट्टै खुसी र गौरवको अनुभूति हुँदो रहेछ ।”

शेर्पाले आफ्नै प्रयासमा उक्त इतिहास रच्नुभएको हो । “जे जस्तो भए पनि चीनमा गएर देशको झन्डा फैलाउन पाउँदा निकै खुसी लागेको छ”, उहाँले भन्नुभयो, “विदेश गएपछि मात्रै नेपालको महत्त्व थाहा हुन्छ । युरोप अमेरिकामा भन्दा सिशापाङ्मा आरोहण गरेर नेपालको झन्डा फहराउन पाउँदा बढी भावनात्मक भइँदो रहेछ ।”

अदम्य साहस र मेहनतले मानिसलाई सफलताको शिखर चढाउँछ । शेर्पाको अनवरत प्रयासले सिशापाङ्माको शिखर मात्रै पुर्याएन । एक पटक विश्वभरको ध्यान उहाँतर्फ केन्द्रित भएको छ । करिब २० दिनको अथक सङ्घर्षमय शिखर आरोहणले दावा याङ्जुम सिशापाङमाको सफल आरोहण गरेर विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालको सफल आरोहण गर्ने पहिलो नेपाली महिला बन्नुभएको छ ।

दोलखाको रोल्वालिङकी ३३ वर्षीया दावाले यही असोज १६ गते बुधवार बिहान ५ बजे तिब्बतस्थित विश्वको १४ औँ अग्लो (८०२७ मिटर) अग्लो सिसपाङ्मा हिमालको सफल आरोहण गरेर यो कीर्तिमान आफ्नो पोल्टामा पार्नुभएको हो । 

सर्वोच्च शिखर सगरमाथाको चार पटक सफल आरोहण गरिसक्नुभएकी दावाले नयाँ कीर्तिमान कायम गर्नुभएको हो । आरोही शेर्पाले अब पनि ‘क्लाइम्बिङ गाइड’लाई नै निरन्तरता दिने बताउनुभयो । “जानेको यही क्षेत्र (माउन्टेन गाइड) नै हो, पहिलाभन्दा बढी अनुभव भएको छ, बाँकी जीवन यही क्षेत्रमै सक्रिय रहने योजना छ । भविष्यमा आफ्नो कामलाई अझ प्रभावकारी बनाउने योजना छ ।”

दावा याङ्जुम पछिल्लो समय पछाडि परेका महिलाहरूलाई पर्वतारोहण क्षेत्रमा तालिम दिलाउने, जलवायु परिवर्तनको असरले पुर्याएको क्षतिबारे विश्वभर नेपालको पक्षमा आवाज उठाउने लगायतका अभियानमा संलग्न हुनुहुन्छ । उहाँ सन् २०१८ देखि विश्व प्रसिद्ध क्लोदिङ ब्रान्ड नर्थफेस र २०२१ देखि रोल्याक्स घडी ब्रान्डको दूतका रूपमा पनि आबद्ध हुनुहुन्छ ।

विश्वका ८ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गर्ने स्पेनकी एडुर्न पासावान विश्वकै पहिलो महिला हुनुहुन्छ । उहाँले १४ वर्षअघि यो रेकर्ड हात पार्नुभएको थियो । 

दावा याङजुम अन्तर्राष्ट्रिय माउन्टेन गाइडको लाइसेन्स प्राप्त गर्ने एसियाकै पहिलो महिलासमेत हुनुहुन्छ । हाल जम्मा ८१ जना माउन्टेन गाइडहरू रहेकोमा याङजुमबाहेक बाँकी सबै पुरुष गाइड रहेका छन् । नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शन सङ्घले माउन्टेन गाइडलाई प्रमाणीकरण गर्दै आइरहेको छ । उहाँको नाममा मकालु हिमालमा २० घण्टामा स्पिड क्लाइम्बिङ (महिला) को र्कीतिमान पनि छ । दावा याङ्जुमले कुमार खड्ग विक्रम साहसिक पुरस्कार, तेन्जिङ हिलारी अवार्डलगायतका धेरै पुरस्कार पाइसक्नुभएको छ ।

महिला आरोहणलाई प्रोत्साहन गर्न दावाको आरोहणले योगदान पुग्ने यस क्षेत्रका विज्ञहरुको विश्वास छ । नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले कीर्तिमानी आरोही दावा याङजुमको सफलताले महिला पर्वतारोहीलाई प्रोत्साहन गर्ने बताउनुभयो ।

“पर्वतारोहणमा कायम भएका नयाँ कीर्तिमानले नेपालको पर्यटन विश्व बजारमा प्रवर्द्धनमा मद्दत पुग्नुका साथै बढीभन्दा बढी आरोहीलाई हिमाल आरोहणमा आकर्षण गर्न पनि प्रोत्साहन मिल्छ”, उहाँले भन्नुभयो । सगरमाथा आरोही सङ्घका अध्यक्ष माया शेर्पाले आरोहणको पछिल्लो कीर्तिमानले नेपाल गन्तव्यको प्रवर्द्धनका साथै आरोहीलाई थप आकर्षण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । आजको गोरखापत्र दैनिकबाट 

सम्बन्धित समाचार