सो क्रममा यातायात महासङ्घ र यातायात मजदुर सङ्गठनका पदाधिकारीले यातायात क्षेत्रले सङ्कट व्यहोर्नुपरेको, व्यवसायी मारमा रहेको, यातायात मजदुरहरूको सुरक्षाका लागि सरकारले पहल लिन नसकेको, यातायात क्षेत्रमा पुगेको क्षतिको तथ्याङ्क सङ्कलनसमेत नगरिएको र अहिलेको विपतले कोभिडको बेला जस्तै यातायात क्षेत्रलाई पीडा दिएको बताए ।
सरकारले पूरै शक्ति लगाएर तीन चार दिनभित्र पहिरोका कारण थुनिएका मजदुर र गाडीको उद्धार गर्नुपर्ने, घरबारविहीन भएका मजदुर र व्यवसायीलाई राहतको व्यवस्था गर्नुपर्ने र पुरिएका र बगेका गाडीको बीमा रकम प्राप्तिमा समस्या भएका कारण तत्काल उपलब्ध गराइदिने वातावरण बनाइदिन उनीहरुले आग्रह गरेका थिए । यातायात क्षेत्रका प्रतिनिधिहरूले अध्यक्ष प्रचण्डलाई उद्धार, राहत र पुनर्स्थापनाका गरेको अगुवाइको प्रशंसा गर्दै प्रमुख प्रतिपक्षी दलको रूपमा सरकारले नगरेको काम गरेको बताएका थिए ।
आफूहरूलाई बोलाएर यातायात क्षेत्रको अभिभावकको भूमिका निर्वाह गरेकोमा खुसी व्यक्त उनीहरुले प्रधानमन्त्रीले आजसम्म चासो नदेखाएकोमा गुनासो व्यक्त गरेका थिए । विपतले यातायात क्षेत्रमा पारेको समस्यालाई प्रमुख प्रतिपक्षी दलले महत्त्वपूर्ण एजेन्डाको रूपमा सरकारसँग छलफल गरेर समाधानका लागि पहल गरिदिन पनि उनीहरुले अध्यक्ष प्रचण्डलाई आग्रह गरेका थिए ।
अध्यक्ष प्रचण्डसँगको छलफलमा राष्ट्रिय यातायात व्यवसायी महासङ्घका अध्यक्ष विजय स्वार, वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, अखिल नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष दीपक केसी, नेपाल यातायात मजदुर सङ्घका धर्म भण्डारी, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका भीम ज्वाला राई लगायत पदाधिकारीहरूको सहभागिता रहेको थियो ।