‘जनस्वास्थ्यको मापदण्ड पालना गर्दै गर्भवती महिलाले नियमित चेकजा“च गर्न अत्यावश्यक’

18.9k Shares

करिब डेढ वर्ष अगाडिदेखि नेपाललाई पनि कोरोना भाइरस संक्रमणले नराम्ररी असर पारेको छ । अझ भन्नुपर्दा कोरोना भाइरसले सर्वसाधारणलाई भन्दा बढी जोखिम गर्भवती महिलाहरुलाई पर्ने गरेको छ । कोरोना भाइरस महामारीका कारण कोरोना भाइरस संक्रमित हुने डरले गर्भवती महिलाहरुले नियमित चेकजाँचलाई समेत निरन्तरता नदिँदा गर्भवती महिलाहरुमा समस्या देखा पर्ने गरेको छ । गर्भवती महिलाहरुले नियमित चेकजाँच गर्दा आमाको तौल, बच्चाको वृद्धि तथा बिकास, आमामा हुने विभिन्न संक्रमणहरु, सुगर, रक्तचाप तथा रक्ताल्पताको अवस्था साथै उनी कति तयार छिन् भविष्यमा हुने प्रसूतिको लागि भन्ने थाहा हुन्छ । तर, नियमित चेकजाँचको क्रममा अस्पताल नआएको खण्डमा गर्भवती महिलालाई आफ्नो अवस्था कस्तो छ । बच्चाको अवस्था कस्तो छ भन्ने कुराको कौतुहलताले मानसिक तनाव पनि थपिने सम्भावना रहन्छ । त्यसैले जनस्वास्थ्यको मापदण्ड पालना गरी नजिकैको स्वास्थ्य संस्थामा नियमित चेकजाँच गर्न आवश्यक छ । यसै सेरोफेरोमा रहेर खोजतलास साप्ताहिकका लागि राजु बस्नेतले स्त्रीरोग विशेषज्ञ डा. रिना श्रेष्ठसँग गरेको संक्षिप्त कुराकानी ः 

० कोभिड—१९ का कारण गर्भवती महिलाहरुमा कस्ता समस्याहरु देखा पर्छन् ?
अन्य मानिसमा जस्तै खोकी लाग्ने, टाउको दुख्ने, जिउ दुख्ने, ज्वरो आउने, घाँटी खसखस हुने, सास फेर्न गाह्रो हुने, स्वाद थाहा नपाउने, बास्ना हराउने जस्ता समस्याहरु गर्भमती महिलामा पनि देखिन सक्छ, तर गर्भवती अवस्थामा कोभिड संक्रमण हुँदा अरुलाई भन्दा  कडा लक्षण देखिन सक्छ  । विशेषत गर्भवती महिलालाई उच्च रक्त चापका साथै विभिन्न अंगहरुमा असर पार्न सक्छ्र समस्या देखिना साथ तुरुन्तै चिकित्सकसँग परामर्श  गरी आवश्यक जाँच तथा उपचार विधि अप्नाइहाल्नुपर्ने हुन्छ ।


० कोभिड— १९ को महामारीसँगै गर्भवती महिलाहरु नियमित चेकजाँच गर्न अस्पताल नआएको अवस्थामा कस्ता समस्याहरु देखापर्न सक्छ ?
नियमित गर्भ जाँच गर्नाले आमाको तौल, बच्चाको वृद्धि तथा बिकास, आमामा  हुने विभिन्न संक्रमणहरु, सुगर, रक्तचाप तथा रक्ताल्पताको अवस्था साथै उनी कति तयार छिन् भविष्यमा हुने प्रसूतिको लागि भन्ने थाहा हुन्छ र उनलाई त्यसको लागि परिवारले कुन हदसम्म सहयोग गरिरहेको छ भन्ने थाहा हुन्छ । साथै उनले लागाउने नियमित टिटी खोप पनि छुट्छ । उनीहरुले नियमित चेकजाँचको क्रममा अस्पताल नआएपछि माथि उल्लेख गरिएका समस्याहरु देखा पर्न सक्छन् । गर्भवती महिलालाई आफ्नो अवस्था कस्तो छ । बच्चाको अवस्था कस्तो छ भन्ने कुराको कौतुहलताले मानसिक तनाव पनि थपिने सम्भावना रहन्छ । त्यसैले जनस्वास्थ्यको मापदण्ड पालना गरी नजिकैको स्वास्थ्य संस्थामा नियमित गर्भ जाँच गर्न सबै गर्भवती महिला दिदी बहिनीहरुलाई सल्लाह दिन चाहन्छु ।


० गर्भवती महिलालाई कोभिड—१९ को संक्रमण देखिएको अवस्थामा कस्ता उपचार विधि अप्नाइन्छ र गर्भमा रहेको बच्चालाई समस्या पर्छ कि पर्दैन ?
साधारणतया, कोभिड—१९ टेष्ट गर्दा पोजेटिभ आयो तर शरीरमा कुनै लक्षण  देखिएन भने घरमै बसेर उपचार गर्न सकिन्छ । आफू छुट्टै  बस्ने, पानी तथा झोलिलो खानेकुरा प्रशस्त मात्रामा पिउने, तागतिलो खानेकुराहरु खाने, समय—समयमा हात धुने, सरसफाईमा ध्यान दिने, नियमित मास्क  लगाउने, बेला बेलामा ज्वरो नाप्ने, अक्सिजनको मात्रा नाप्ने जस्ता विधिहरु अप्नाउनु पर्छ । तर, ज्वरो आएको खण्डमा, खोकी लागेमा, टाउको दुखेमा जिउ दुखेमा, सास फेर्न गाह्रो भएमा तुरुन्त चेकजाँच गर्न स्वास्थ्य संस्था जानुपर्ने हुन्छ । गर्भवती महिलामा  कोभिड—१९ भएमा अत्यधिक रक्तचाप बढ्ने साथै बिभिन्न अंगहरुमा असर पार्ने, मधुमेह हुने, समयभन्दा अघि नै डेलिवरी हुने, कम तौल भएको बच्चा जन्मिन सक्छ, अझ अर्को डरलाग्दो कुरा गर्भास्था मै बच्चाको मृत्यु हुन पनि सक्छ ।


गर्भवती महिलाले कोभिड संक्रमणबाट जोगिन कस्ता—कस्ता सावधानी अप्नाउनुपर्छ ?
अरुले साधारण मानिसले जस्तै जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने हुन्छ । मास्क लगाउने, सम्भव भएमा फेसशिल्ड पनि प्रयोग गर्ने, हात नियमित साबुन पानीले धुने, स्यानिटाइजर बेला बेलामा प्रयोग गर्ने, भौतिक दुरी कम्तिमा २ मिटर कायम गर्ने । यी कुरालाई कायम राख्न  कोभिड—१९ संक्रमित समुदायमा  सकेसम्म नजाने, धेरै भिडभाड भएको ठाउँबाट टाढै बस्ने, अति आवश्यक काम बाहेक अरु बेला घरबाट बाहिर ननिस्कने । यति गर्न सकेमा कोभिड संक्रमणबाट जोगिन सकिन्छ, गर्भवतीको जाँच गर्दा माथिका जनस्वास्थ्यका मापदण्ड पालना गर्नु जरुरी छ ।


० कोभिड—१९ बाट संक्रमित महिलाले स्तनपान गराउन मिल्छ कि मिल्दैन ?
विश्व स्वास्थ्य संगठनका अनुसार कोभिड— १९ को संक्रमित आमाले आफूलाई कुनै समस्या, अप्ठ्यारो महसुस नभएको अवस्थामा आफ्ना बच्चालाई स्तनपान गराउन सकिन्छ । तर स्तनपान गराउनु पूर्व साबुन पानीले हात धुने, मास्क लगाउने, हातमा स्यानीटाइजर प्रयोग गर्ने जस्ता सावधानी अप्नाउनुपर्छ ।


० कोभिडबाट संक्रमित भएका महिलाले कति समयको अवधिपछि बच्चाको चाहना राख्न सक्छन् ?
कोभिड भएको महिला पूर्णरुपमा ठिक भइसकेपछि १० दिन पछि कुनै लक्षण नदेखिएको अवस्थामा बच्चाको चाहना राख्न सकिन्छ ।


० बच्चाको चाहना राख्ने महिलाले कोभिड—१९ को खोप लगाउन मिल्छ कि मिल्दैन ?
कोभिड—१९ को खोप आफैमा कोभिड—१९ संक्रमणको प्रतिरक्षाका लागि लगाउने खोप भएका कारण बच्चाको चाहना राख्ने महिलाले खोप लगाउन मिल्छ ।


० गर्भास्थामा कोभिड भ्याक्सिन लगाउन मिल्छ कि मिल्दैन ?
गर्भवती अवस्थामा कोभिड–१९ संक्रमण भएमा कडा खालको हुन्छ । यदि गर्भवती हुनुहुन्छ भने युएस सिडिसीका अनुसार गर्भवती हुनुहुन्छ भने कोभीड खोप लगाउनु राम्रो ।


० जाँदा जाँदै सर्वसाधारणलाई केही संदेश दिन चाहनुहुन्छ  ?
सबैले जनस्वास्थ्यका मापदण्ड पालना गरौ । अत्यावश्यक काम नभएसम्म घरबाट बाहिर ननिस्कौं । त्यसो त अरु बेला पनि गर्भवती महिलाको स्याहार सुसार गर्नु महत्वपूर्ण हुन्छ । यो महामारीमा परिवारबाट अझ थप स्याहार सुसार र स्नेहको आवश्यकता हुन्छ जसले गर्दा गर्भवती महिला सुरक्षित मातृत्वको लागि अझ सुदृढ र मानसिक रुपमा तयार हुन सक्छिन् ।
 

सम्बन्धित समाचार