युक्रेनमा ६६ हजार रूसी सैनिक मारिएको ‘मिडियाजोना’को दाबी

16.3k Shares

वार्सा – युक्रेनमा जारी युद्धमा ६६ हजारभन्दा बढी रूसी सैनिकको मृत्यु भएको एउटा स्वतन्त्र रूसी सञ्चार माध्यम ‘मिडियाजोना’ले शनिबार जनाएको छ। ‘मिडियाजोना’ले बीबीसी रूसी सेवासँगको सहकार्यमा खुला स्रोतको तथ्याङ्क प्रयोग गरेर ज्ञात सैनिकको मृत्युको सूची तयार गरिरहेको छ।

यसअघि, गत अप्रिलमा उनीहरूले मारिएका ५० हजारभन्दा बढी रूसीको नाम फेला परेको घोषणा गरेका थिए ।‘मिडियाजोना’ले शनिबार भनेको छ, “अगस्ट ३० सम्म हामीलाई युद्धमा मारिएका ६६ हजार ४७१ रूसी सैनिकको नाम प्राप्त भएको छ ।”

पछिल्लो चार हप्तामा यो सूची चार हजार ६०० भन्दा बढीले बढेको र धेरै सैनिकहरूको मृत्यु सार्वजनिक नगरिएकाले यो निश्चित आँकडा नभएको स्रोतले जनाएको छ ।

‘मिडियाजोना’की एक सञ्चारकर्मी अनास्तासिया अलेक्सिएभाले मृत्यु हुनेको पछिल्लो सङ्ख्या कुस्र्क क्षेत्रमा युक्रेनको आक्रमण वा पूर्वमा रूसको प्रगतिसँग सम्बन्धित नभएको बताएका छन् । “यसको कारण यो हो कि अनुसन्धानकर्ताहरूले अझै पनि मृत्यु रिपोर्टहरूको ब्याकलगमार्फत काम गरिरहेका छन्,” उनले भने ।

प्रतिवेदनमा राष्ट्रिय सेवामा संलग्न १७२ जना सैनिक युद्धमा मारिएको पाइएको उल्लेख गरिएको र यो प्रारम्भिक महिनाहरूमा सबैभन्दा बढी हो।

‘मिडियाजोना’का सम्पादक दिमित्री ट्रेश्चानिनले भन्नुभयो, “यी आँकडाहरू पूर्णरूपमा सही नहुन पनि सक्छन् किनभने अनिवार्य सैन्य भर्ती केन्द्रहरूले व्यावसायिक सैन्य सम्झौतामा हस्ताक्षर गर्नका लागि केही आफन्तहरूको नाम दर्ता गरेको हुन सक्छन्।”

‘मिडियाजोना’को विवरणअनुसार सबैभन्दा बढी दक्षिणी गणतन्त्र बाश्कोर्तोस्तानमा दुई हजार ५७८ जनाको मृत्यु भएको छ । यहाँ ठूलो सङ्ख्यामा मुस्लिम समुदायको बसोबास छ। समग्रमा सबैभन्दा बढी मृत्यु ३३ देखि ३५ बर्षको उमेर समूहका सैनिकको भएको र यस समूहबाट छ हजार ८७७ जनाको मृत्यु भएको छ।

सम्बन्धित समाचार