सार्थक जीवनको एउटा आधार सन्तुलन हो । सन्तुलन भनेको न धेरै न कम, जति आवश्यक छ उति । कमले पनि असन्तुलन हुन्छ, धेरैले पनि । स्वस्थताको आधार सन्तुलन नै हो । वैज्ञानिक तथ्यको आधारमा ब्रम्हाण्ड सन्तुलनमा अडेको छ । सूर्य र ग्रहहरूको गुरुत्वाकर्षणको सन्तुलनमा हाम्रो सूर्यमण्डलको अस्तित्व सम्भव भएको हो । यही सन्तुलनमा पृथ्वीको आफ्नो गति निर्धारित भयो र दिन रात, ऋतुहरूको परिवर्तन सम्भव भयो । पृथ्वीमा प्राणीको अस्तित्व सम्भव भयो । प्रकृतिको सबै संरचना सन्तुलित छन् । प्रकृतिको सन्तुलनबिना प्राकृतिक जीवन सम्भव छैन । तापक्रमको सन्तुलन, वायुमण्डलको सन्तुलन, शारीरिक सन्तुलन, खानपानको सन्तुलन, भनूँ पञ्चतत्वको सन्तुलन नै जीवन हो । जहाँजहाँ सन्तुलन बिग्रिन्छ, त्यहाँत्यहाँ समस्या प्र्रारम्भ हुन्छ, अस्थिरता प्रारम्भ हुन्छ । सजिलो उदाहरण, मानिसको शरीरमा नियमित किसिमले चल्ने रक्तचापको सन्तुलन, चिनीको सन्तुलन बिग्रियो भने शारीरिक समस्या प्रारम्भ हुन्छ । शरीरको मात्र कुरा छैन, राज्यको नियम कानुन सन्तुलित बनेन भने असन्तुष्टि हुन्छ, विद्रोह हुन्छ, अस्थिर हुन्छ । समाज सन्तुलित भएन भने सामाजिक सद्भावमा समस्या हुन्छ । शारीरिक स्वस्थताको लागि मनको सन्तुलन पहिलो आवश्यकता हो । सन्तुलित मनले मानसिक सन्तुलन कायम गर्छ । मानसिक सन्तुलनले शरीरका तत्वहरूलाई सन्तुलनमा राख्न मद्दत गर्छ । रक्तचाप, ग्लुकोज, मुटुको धड्कन लगायत भिटामिन, खनिज, कार्बोहाइड्रेड, प्रोटिन, चिल्लो पदार्थ आदि आवश्यक तत्वहरू सबैको सन्तुलनबिना स्वस्थता कल्पना गर्न सकिन्न । धेरमा पनि समस्या, अपुगमा पनि समस्या । खानपान, जीवन पद्धति, विचार, मानवीय सम्बन्ध सबैसबैमा सन्तुलनको आवश्यक छ । जहाँ सन्तुलन त्यहाँ स्वस्थता । सन्तुलन नै सार्थक जीवनको आधार हो ।
सन्तुलित विचार
जीवनमा निकै महत्व राख्ने एउटा पक्ष सन्तुलित विचार हो । आहारव्यहारको सन्तुलनमा पनि विचार नै प्रधान हुन्छ । विचार सन्तुलनमा रहेन भने न श्रम सन्तुलित हुन्छ, न जीवनपद्धति सन्तुलित हुन्छ । त्यसैले पहिला विचारलाई नै सन्तुलित गर्नु आवश्यक छ । सन्तुलित विचार भनेको के हो त ? कस्तोलाई सन्तुलित विचार भन्ने ? विचारलाई कसरी सन्तुलित राख्ने ? प्रश्न जटिल छ उत्तर पनि सहज छैन । सन्तुलित विचार मानसिक स्वस्थताको आधार हो । इन्द्रियहरूको माध्यमबाट मनमा उठ्ने विचारको तरङ्गलाई सन्तुलन कायम राख्नु सन्तुलित विचार हो । सकारात्मक या नकारात्मक आवेगबाट मनलाई काबुमा राख्नु सन्तुलित विचार हो । रिस, राग, द्वेष, अहंकारको तेजलाई नियन्त्रणमा राख्नु, लोभमोह र कामको अग्निलाई काबुमा राख्नु, भय, चिन्ता र ईष्र्याबाट उत्पन्न हुने संवेदनालाई प्रभावहिन राख्नु मनको स्थिरता हो । मनको स्थिरता शान्त र आनन्दमय हुन्छ । त्यसैले सन्तुलित विचार स्वस्थ हुन्छ, सुन्दर हुन्छ । अस्वस्थता हामीलाई मन पर्दैन, हामीले कहिले पनि चाहेकै होइन, स्विकार्नै सकिँदैन तर अस्वस्थताले दुःख दिन्छ, दिइरहन्छ, किन ? विज्ञान भन्छ, संसारमा कुनै पनि विषय वा वस्तुबिना कारण उत्पन्न हुँदैन । बिनाकारण कुनै चिजको न उत्पति हुन्छ, न नाश हुन्छ । यो प्रकृतिको कानुन हो । यसलाई न परिवर्तन गर्न सकिन्छ न रोक्न सकिन्छ । यो त निरन्तर चलिरहने प्रक्रिया हो । अतः अस्वस्थ हुनुको कारण पनि अवश्य हुन्छ, छ नै । कारण थुप्रोथुप्रो हुन सक्छन् । तर ती कारणहरूमा पनि एउटा कारण मनको अस्थिरता हो । त्यसैले स्वस्थताको लागि सन्तुलित विचारको अत्यन्त महत्व छ, भन्न सकिन्छ ।
सन्तुलित भोजन
शरीरको दैनिक कार्यसम्पादनको लागि आवश्यक तत्वहरू सहितको भोजन सन्तुलिन भोजन हो । स्वास्थ्य विज्ञानको अनुसार सन्तुलित आहार हो । शरीरलाई दैनिक रूपमा आवश्यक पर्ने तत्वहरू प्रोटिन, कार्बोहाइड्रेड, खनिज, भिटामिन र चिल्लो पदार्थ ठिक मात्रामा रहेको मिश्रित भोजन नै सन्तुलित भोजन हो । सिद्धान्ततः सन्तुलित भोजन लिनुपर्छ, थाहा छ तर व्यवहारमा कति सम्भव छ त ? भिटामिनमा पनि कुन भिटामिन कति आवश्यक पर्छ ? खनिजमा कुन खनिज कति आवश्यक पर्छ ? प्रोटिनको मात्रा कति ?, कार्बोहाइड्रेडको मात्रा कति ?, चिल्लो पदार्थ कति चाहिन्छ ? निश्चय नै हामीले प्रत्येक पटक खाना खाँदा नापेर, जोखेर खाने सम्भावना रहँदैन् । सम्भावना नरहने भन्दा पनि व्यवहारिक पनि हुँदैन् तर खानेकुरालाई ध्यान दिन भने अवश्य सम्भव पनि छ, व्यवहारिक पनि छ । त्यति मात्र होइन, आवश्यक पनि छ । शरीरमा कुनै तत्व अलिकति कम वा धेरै भएर केही भैहाल्ने पनि होइन् । शरीरले धान्न नसक्ने भएपछि त समस्या देखापर्ने हो । त्यसैले खानेकुरामा ध्यान दिन सम्भव छ, अति आवश्यक पनि छ । शरीरले खानाबाट आवश्यक तत्वहरू चाहिने जति सोसेर लिन्छ र धेर तत्वहरू बाहिर फाल्ने प्रक्रिया चलिरहेको हुन्छ । जब बाहिर फाल्ने प्रक्रियामा अवरोध उत्पन्न हुन थाल्छ, धेर तत्वहरू शरीरमै जम्मा हुन थाल्छन् । यो रगतको माध्यमले शरीरको कोषकोषमा पुग्छन् । यो अवस्था धेर समयसम्म चलिरहन्छ र पछि यसैबाट शरीरको अङ्गहरूमा समस्या देखापर्छ । यसैबाट रोगको प्रारम्भ हुन्छ । शरीरमा जम्मा हुने धेर कार्बोहाइड्रेडलाई बाहिर फाल्ने प्रक्रियामा अवरोध भयो भने रगतमा कार्बोहाइड्रेडको मात्रा धेरै हुन्छ र शरीरका अङ्गहरूमा समस्या देखापर्छ । यसैलाई चिनी रोग भनियो । धेर प्रोटिनलाई बाहिर फाल्न सकेन भने यूरिक एसिडको समस्या देखापर्छ । त्यस्तै धेर रक्तचापले मस्तिष्कघात हुने समस्या, कम भएमा कमजोर भएर ढल्ने समस्या । भिटामिन ‘ए’ को आवश्यकतापूर्ति नहुँदा रतन्धो जस्तो रोग लाग्छ भने धेरै भयो भने बान्ता लाग्छ । शरीरमा पानीको आपूर्ति पुगेन भने सम्पूर्ण प्रणालीमा नै समस्या हुन्छ । ओसिलो भइरहनुपर्ने आन्द्राले पानी भएन भने रगत सोस्न थाल्छ र शरीरमा रगतको कमी हुन्छ । पानी धेरै भयो भने किड्नीमा भारी पर्छ र किड्नीको काममा बाधा पुग्छ । त्यसैकारण खाना खाँदा विचार पु¥याउनु जरुरी छ । खाना केका लागि ? बाँच्नको लागि खाने कि खानको लागि बाँच्ने ? शरीरको लागि खाने कि जिब्रोको लागि खाने ? प्रश्न जति सरल छ, त्यति गम्भिर पनि । बुढापाकाहरूले भन्ने गरेको पाइन्छ ‘थोरै खाए बल, धेरै खाए मल’ । शरीरलाई आवश्यक भिटामिन ‘बि’ पनि धेरै मात्राको सेवनले विष बन्छ । ‘धेरै भयो भने चिनी पनि तितो हुन्छ’ भन्ने हाम्रो गाउँघरको उखान त्यतिकै बनेको कहाँ हो र ? मानसिक सन्तुलनको लागि विचारको सन्तुलन आवश्यक भएजस्तै शरीरको सन्तुलनको लागि भोजनको सन्तुलन उतिकै महत्वपूर्ण हुन्छ । शरीरको सन्तुलनको लागि शरीरभित्रको अङ्गहरूको सन्तुलन आवश्यक हुन्छ । अङ्गहरूको सन्तुलनको लागि रगतको सन्तुलन आवश्यक हुन्छ । रगतको सन्तुलनको लागि रगतमा हुने तत्वहरूको सन्तुलन आवश्यक हुन्छ । रगतका तत्वहरूको सन्तुलनको लागि अक्सिजन र ग्लुकोजको सन्तुलन आवश्यक हुन्छ । ग्लुकोजको सन्तुलनको लागि भिटामिन, कार्बोहाइड्रेड, प्रोटिन, खनिज, चिल्लोको सन्तुलन आवश्यक हुन्छ । निश्चय नै यी तत्वहरूको सन्तुलनको लागि भोजनको सन्तुलन आवश्यक हुन्छ । मनपरी खाएर शरीरको सन्तुलन खोज्नु अथवा स्वस्थता खोज्नु मूर्खता बाहेक के हुनसक्छ र ? जब असन्तुलित खानाको कारण शरीरभित्र चलिरहने निर्माणप्रक्रिया र नष्ट हुने प्रक्रियाहरूको सन्तुलन बिग्रन्छ तब शरीरको नष्ट हुने प्रक्रिया प्रबल हुन्छ । अन्ततः एकदिन शरीरको अन्त हुन्छ ।
सन्तुलित जीवनपद्धति
दैनिक रूपमा जीवन बिताउने तरीका नै जीवनपद्धति हो । जीवनपद्धतिको कुरा गर्दा विशेष गरेर श्रमसँग जोडिन्छ । मानसिक श्रम र शारीरिक श्रम । सँगसँगै आराम र मनोरञ्जन पनि जोडिन्छ । जीवनमा श्रमको अति महत्व छ । जति श्रमको महत्व छ, त्यति नै जीवनमा मनोरञ्जन र आराम पनि आवश्यक छ । कस्तो श्रम ? कति श्रम ? शरीरले धान्नै नसक्ने गरी गरिने धेरै श्रम र आवश्यक जति छ, त्यति पनि श्रम नगर्ने दुवै असन्तुलित हुन् । व्यक्तिगत श्रम वा सामाजिक श्रम, पाच्य वा अपाच्य श्रम, निर्माण वा ध्वंसको श्रम । आत्मसन्तुष्टिको श्रमले जीवनमा निकै महत्व राख्दछ । जुन श्रम बोझ बन्दैन, जसले आनन्द दिन्छ । खुसीले गर्ने श्रमले सृजना दिन्छ । आरुनो सृजनाप्रति प्रेम हुन्छ, लगाव हुन्छ, मेहनतको भावना खारिन्छ जसले गर्दा श्रम गुणयुक्त हुन्छ, अपेक्षाकृत फलदाइी हुन्छ । अनि जीवनलाई सन्तुलनमा राख्न मद्दत पुग्छ । तर श्रमप्रति सन्तुष्ट हुन सकेन भने पीडाको अनुभूति हु्न्छ । पीडाले क्रोध उत्पन्न हुन्छ । क्रोधयुक्त श्रम न गुणयुक्त हुन्छ, न आशा अनुरूप फलदाइी नै हुन्छ । एकातिर श्रमको असन्तुलन, अर्को शरीरको पनि असन्तुलन । यस्तो अवस्थामा जीवन कसरी सन्तुलनमा रहन्छ ? शरीरको तन्दुरुस्तको लागि भनेर गरिने शारीरिक व्यायम पनि शरीरको क्षमताभन्दा धेरै र व्यायम नै नगरेर अल्छी हुनु दुवै असन्तुलित हुन् । दार्शनिक सुकरातका अनुसार ‘आलस्य भई जीवन बिताउनु आत्महत्या समान हुन्छ ।’ बुद्धले दुःख निवारणका मार्गमा सम्यक व्यायामलाई उतिकै महत्व दिएर भन्नुभएको छ । बुद्धले सम्यक व्यायाम शारीरिक श्रमसँग मात्र जोडिएकोे नभएर मनमा आउने विचारलाई समेत सन्तुलन राख्नुपर्ने आवश्यकता दर्शाउनु भएको छ । बुद्धका अनुसार जुन विचारको कारण मन अस्थिर बन्छ, मानसिक विचलन हुन्छ, त्यस्ता खराब विचारलाई त्याग गर्नु, आउनै नदिनु र सतविचारलाई सधैँ स्थिर राख्नु सम्यक व्यायम हो ।
आवश्यकता अनुसार सन्तुलित श्रम सँगसँगै सन्तुलित मनोरञ्जन र सन्तुलित आराम पनि जोडिन्छ । न धेरै आराम न कम । मानसिक र शारीरिक रूपमा पुर्नताजगी ल्याउन मनोरञ्जनमा पनि सन्तुलित सहभागिता जनाउनु श्रम जतिकै महत्वपूर्ण छ तर श्रम र आरामलाई बाधा पु¥याउनु सन्तुलित जीवनपद्धति होइन् । त्यसैले दैनिक चौबिस घण्टामा आठ घण्टा श्रम गर्ने, आठ घण्टा मनोरञ्जन गर्ने र आठ घण्टा आराम गर्ने भन्ने अन्तराष्ट्रिय मापदण्ड कायम रहेको हो । अहिलेलाई भन्नुपर्दा सन्तुलित जीवनपद्धति भनेको यही नै हो । कतिपयको जीवनमा यो नियम लागु गर्न सम्भावना नरहन सक्छ । नेपालको सन्दर्भमा भन्नुपर्दा चालिस प्रतिशत गरिबीको रेखामुनि रहेका नेपालीहरूले मनोरञ्जनलाई छोडेर, कम समय आराम गरेर धेरै श्रम गर्नुपर्ने बाध्यता कायम छ । कतिपय त आठ घण्टा होइन, अठार घण्टासम्म श्रममै बिताउन बाध्य छन् । धनीहरू पनि धेरै विलासितामा समय व्यतित गर्ने गर्छन । त्यसैले नेपाली जीवन सन्तुलित छैन । असन्तुलित भएकै कारण अरू देशको भन्दा सरदर बाँच्ने आयु पनि कम भएको भन्न सकिन्छ । हामीले सन्तुलित जीवन पद्धतिको लागि प्रयास गर्नु अति आवश्यक छ ।
सन्तुलित जीवन पद्धतिमा कर्म (श्रम) पनि जोडेर आउने भएकाले बुद्धले दिनु भएको सम्यक कर्मान्तको मर्मलाई बुझ्नु उत्तम हुन्छ । सम्यक कर्मान्तको अर्थ सत्कर्म हो । जुन कर्मले आरुनो र अरूको पनि हित गर्छ, त्यस्ता कर्महरू स्विकार गर्नु र जुन कर्मले कसैको पनि हित गर्दैन त्यस्ता दुष्कर्महरूको त्यागु गर्नु सम्यक कर्मान्त हो । यहाँ गीताको कर्मयोगको प्रसङ्ग सान्दर्भिक हुनसक्छ । कर्मयोगमा भनेको छ, ‘कर्म गर फलको आश नगर’ । सिधा हेर्दा कसरी मिल्छ ? राम्रो फल पाउने आशा नगरी कर्म गर्नु त मुर्खता नै हो । फलै नपाउने भए किन कर्म गर्ने ? केका लागि कर्म गर्ने ? हो, यी तर्कहरूमा दम छ । तर गीताजस्तो महान ग्रन्थमा त्यतिकै त अवश्य भनेको होइन होला । विद्वानहरूले त्यतिकै त स्विकार गरेको अवश्य पनि होइन होला । गीताको अनुसार मानव कर्म साधक हो । कर्म गर्नु मानवको धर्म हो । कर्मको फल दिने काम मानवको होइन, प्रकृतिको हो । त्यसैले मानवले समयानुकुल उचित कर्म मात्र गर्नुपर्छ । त्यसको उचित फल दिने कर्तव्य प्रकृतिको हो, अवश्य फल दिनेछ । यसको अर्थ प्राप्तिलाई केन्द्रमा राखेर गर्ने कर्म अथवा यसलाई यसरी बुझौँ, नितान्त स्वार्थभावले गर्ने कर्मले जीवनपद्धति सन्तुलन हुन सक्दैन । निस्वार्थ कर्मले मात्र जीवनपद्धति सन्तुलित हुनसक्छ । क्रमशः