छायादेवीका सञ्चालकमाथि संकटैसंकट

12.9k Shares

काठमाडौं । छायादेवी कम्प्लेक्सविरुद्धमा सडकसँगै कानुनी लडाइँ पनि आक्रामक बन्दै गएपछि यसका सञ्चालकहरूसमक्ष अनेक संकटहरू तेर्सिएका छन्।

ठमेलस्थित भगवान् बहाल अगाडि रहेको कमलपोखरीको राजगुठीको जग्गा अतिक्रमण गरेर बनाइएको सो कम्प्लेक्स वा सेन्टरविरुद्ध शुरूदेखिको सम्पदा अभियन्ता, संस्कृति तथा गुठियारहरूको संघर्ष र गुठी जग्गा अतिक्रमण गरी बनाइएको एकपछि अर्को प्रमाणहरू फेला परेपछि सञ्चालकहरू रक्षात्मक बन्दै गएका छन् ।

सयौं वर्ष पुरानो कमलपोखरीमा बल मिच्याइँ गर्दै छायाँदेवी कम्प्लेक्स प्रालिका अध्यक्ष एवं बैंकर पृथ्वीबहादुर पाण्डेसहित ‘शक्तिशाली’ ४३ व्यवसायीको समूहले व्यापारिक भवन छाया सेन्टर ठड्याएपछि स्थानीय र सम्पदा संरक्षणकर्मीले सडक आन्दोलनसँगै न्यायालय गुहारेका थिए । अध्यक्ष पाण्डेसहित प्रालिका सञ्चालकहरू सुहृदराज घिमिरे, दीपकमान शेरचन, रास्वपा नेता सुमनविक्रम पाण्डे, महेश्वरप्रकाश श्रेष्ठलगायतले राजनीतिक संरक्षणको आडमा राज्यकै सम्पत्ति हडपेर सेन्टरको भवन बनाएका थिए।

सडकदेखि र सदनसम्म यसको लगातार विरोध हुँदै आएकोमा पछिल्लोपटक यस विषयमा भूमि व्यवस्थापन विभाग, गुठी संस्थान, नापी तथा मालपोत कार्यालयले सर्वोच्च अदालतलाई दिएको जवाफले अदालतबाट हुने फैसलाको मुख्य निर्णय आधार बन्ने कानुन व्यवसायीहरूको विश्लेषण रहेको छ।

सर्वोच्चले छायादेवी कम्प्लेक्स बनेको साविक कित्ता नं १६७ र १०४० का जग्गाहरू २३ मंसिर २०४४ मा नेपाल सरकारका नाममा दर्ता स्रेस्ता कायम भएकामा सोही जग्गाबाट कित्ताकाट भई विभिन्न व्यक्तिका नाममा गएको देखिएकाले के कसरी व्यक्तिका नाममा कित्ताकाट हुन गएको हो भनी जवाफ मागेको थियो । त्यसमा गुठी संस्थानले काठमाडौं ठमेलस्थित कमलपोखरीको ऐतिहासिक जग्गा अतिक्रमण भई छायादेवी कम्प्लेक्स बनेको कि.नं १६७ को जग्गा गुठी संस्थानअन्तर्गतको भएको जवाफ पठाएको थियो । गुठी संस्थानले विवादमा आएको ठमेल गरुड भगवान् गुठीको जग्गा साविक लगत नम्बर १८३ को २६ रोपनी ८ आनामध्येको पछि नापी हुँदा कि.नं १६७ को कायम भएको थियो ।

सोकोे क्षेत्रफल १२ रोपनी १३ आना २ पैसा २ दाम रहेको छ । मालपोत कार्यालयले नेपाल सरकारको निर्देशनअनुसार विरहमा पर्ती, पोखरी इनार, पार्टी पौवा उल्लेख भएको जग्गा तत्कालीन श्री ५ को स्रेस्ता कायम भएको जग्गा भूलवस नेपाल सरकारको नाममा दोहोरो स्रेस्ता कायम भएको भन्ने व्यहोरा मिति २०८१ जेठ १ र च.नं ८६३२ को पत्रमा उल्लेख गरिएको छ । सो सम्बन्धमा गुठीलाई थाहा नभएको भनिएको छ । त्यसै गरी कित्ता नम्बर १०४० को क्षेत्रफलको ९ आना २ पैसा ३ दामको सम्बन्धमा कार्यालयको अभिलेखबमोजिम नापनक्सा अवस्थाकै शुरू कित्ता भएको भनी मालपोत कार्यालयले पठाएको पत्रमा भनिएको छ। आजको नेपाल समाचारपत्र दैनिकबाट 

सम्बन्धित समाचार