काठमाडौं । प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरे र सांसदका बीचमा ‘नोकझोक’ चलेको छ । नेपाल विद्युत् प्राधिकरणले ट्रंक र डेडिकेटेड लाइनबापत उठाउनुपर्ने महसुलको विषयमा बोल्दै गर्दा सभामुखले बोल्न रोकेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले विरोध गरेका हुन् ।
मंगलबारको प्रतिनिधिसभाको आकस्मिक समयमा रास्वपा सांसद हरि ढकालले भ्रष्टाचार र अरू केही विषयमा बोलेपछि उद्योगीबाट उठाउनुपर्ने विद्युत् महसुल’bout कुरा राख्न सुरु गरेका थिए । तर, सभामुख घिमिरेले भने ढकालले सार्वजनिक यातायातका विषयमा बोल्न समय लिएकाले अरू विषयमा बोल्नु असान्दर्भिक भएको भनेर माइक काटे । त्यसपछि रास्वपा सांसदहरूले उठेर विरोध जनाएका हुन् ।
बोल्न नदिएको भन्दै प्रतिपक्षी दलहरूले अवरोध गरेपछि बैठकमा सभामुख घिमिरे र सांसदहरूबीचमा केहीबेर सवाल–जवाफ नै चल्यो । रास्वपालाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदले पनि साथ दिएका छन् । सभामुख घिमिरेले रास्वपाका सभापति रवि लामिछानेलाई बोल्न समय दिएका थिए । लामिछानेले सांसद ढकालले विद्युत् महसुलको विषय उठाउनेबित्तिकै सभामुखले माइक काटिदिएको भन्दै विरोध जनाए ।
लामिछानेपछि सभामुख घिमिरेले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई समय दिए । उनले पनि सभामुखको कार्यशैलीको विरोध गर्दै भने, ‘हामीले आकस्मिकमा जुन समय प्राप्त गर्छौं, यसपटकबाट परम्परा बिगारिराखिएको छ, प्रतिनिधिसभा सदस्यलाई तिमीले यो मात्रै बोल्न पाउँछौं भन्ने व्यवस्था मान्य हुँदैन ।’
उनीहरूले बोलेपछि पनि सभामुख घिमिरेले ढकाललाई समय दिएनन् । ‘समय मैले दिने हो, मैले दिएपछि मात्रै बोल्ने हो,’ भन्दै सभामुखले दम्भ देखाए । त्यसपछि केहीबेर सभामुख घिमिरे र प्रतिपक्षी दलबीच सवाल जवाफ भयो । आजको राजधानी दैनिकबाट