सञ्चालनमा आयो भोटखोलामा अवरुद्ध टेलिफोन सेवा

15.8k Shares

किमाथाङ्का (सङ्खुवासभा)-सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोलामा अवरुद्ध टेलिफोन सेवा सञ्चालनमा आएको छ ।

गत साउन १७ गते राति बिहीबारदेखि चिचिला र सभापोखरी गाउँपालिको सीमावर्ती क्षेत्र बर्खेडाँडामा रहेको टावरमा विद्युत् आपूर्ति बन्द भएपछि उत्तरी क्षेत्र भोटखोलामा टेलिफोन अवरुद्ध भएको थियो । चिचिला र सभापोखरी सीमावर्ती क्षेत्र बर्खेडाँडामा मर्मत र नियमित विद्युत् आपूर्ति भएपछि चार दिनपछि दुर्गम उत्तरी क्षेत्र भोटखोलामा टेलिफोन सेवा सञ्चालन भएको दूरसञ्चार कार्यालय खाँदबारीका प्रमुख प्रेमकुमार राईले बताए । 

विद्युत् आपूर्ति बन्द हुँदा उत्तरी क्षेत्रका बर्खेडाँडा, भाटभटेनीडाँडा र लच्चीडाँडालगायतका टावर बन्द भएको उनले बताए । चट्याङका कारण ब्याट्री व्याकअप, उपकरण र टावरका सामग्री पड्कँदा बेलाबेला उत्तरी क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध हुने गरेको छ ।

अवरुद्ध टेलिफोन सेवा सञ्चालन भएपछि भोटखोला–२ र ३ का हटिया, च्याम्ताङ, चेपुवा, लिङगम, छुम्सुर, रिदाकलगायत गाउँका बासिन्दा लाभान्वित भएका छन् । विद्युत सेवा नपुगेका दुर्गम गाउँमा बिटिएस टावर अझै सोलार पावरका भरमा चल्ने गरेको छ ।

सम्बन्धित समाचार