गुठी संस्थानले सर्वोच्चलाई किन टेरेन ?

15k Shares

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं ठमेलस्थित कमलपोखरीको ऐतिहासिक जग्गा अतिक्रमणको विषयमा गुठी संस्थानलाई कागजपत्र पेस गर्न आदेश दिएको साढे तीन महिना बित्दा पनि बुझाउन सकेको छैन ।

सर्वोच्चले सार्वजनिक कमलपोखरी क्षेत्रको जग्गा के–कसरी व्यक्तिको नाममा दर्ता भयो भनी कागजात पेस गर्न ३० चैत २०८० मा आदेश जारी गरेको थियो । सर्वोच्चले मागेको विवरण मालपोत कार्यालय र नापी विभागले पठाए पनि गुठी संस्थानले भने अझै बुझाउन सकेको छैन ।

गुठी संस्थाले यसअघि ऐतिहासिक कमलपोखरी सार्वजनिक गुठी संस्थानको भएको भनी जवाफ पठाए पनि सर्वोच्चले कागजपत्र पेस गर्न भनेको साढे तीन महिना बित्दा पनि यसपटक भने कागजपत्र पेस गर्न सकेको छैन ।

सर्वोच्चले कागजपत्र मागेपछि यकिन विवरण भए समयमै पठाउनुपर्नेमा ढिलाइ गरेको भन्दै अभियन्ताहरूले आश्चर्य व्यक्त गरेका छन् । गुठी संस्थानले कागजपत्र भेट्न नसकिएकाले पठाउन नसकिएको जवाफ दिएको एक अभियन्ताले बताए ।

बैंकर पृथ्वीबहादुर पाण्डेले ठमेल भगवानबहालअगाडि रहेको कमलपोखरी मासेर आफ्नी आमा छायादेवी पाण्डेको नाममा व्यापारिक कम्प्लेक्स बनाएको भन्दै सो भत्काउनुपर्ने माग गर्दै २०७१ सालमा अधिवक्ता दीपकविक्रम मिश्र, रामहरी श्रेष्ठलगायतका १५ थान मुद्दा सर्वोच्चमा परेको थियो ।

सो मुद्दामा सर्वोच्चका न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र कुमार चुडालको इजलासले हाल छायादेवी कम्प्लेक्स बनेको साबिक कित्ता नं १६७ र १०४० का जग्गाहरू २३ मंसिर २०४४ मा नेपाल सरकारका नाममा दर्ता से्रस्ता कायम भएकामा सोही जग्गाबाट कित्ताकाट भई विभिन्न व्यक्तिका नाममा गएको देखिएकाले के कसरी व्यक्तिको नाममा कित्ताकाट हुन गएको हो ? सोको विवरण गुठी संस्थान केन्द्रीय कार्यालय र मालपोत कार्यालय काठमाडौंबाट झिकाउन आदेश दिएको थियो । आजको राजधानी दैनिकबाट 

सम्बन्धित समाचार