काठमाडौं । बजेट कार्यान्वयनमा चौतर्फी दबाब भए पनि आर्थिक वर्ष २०८०/८१ मा ८० प्रतिशत मात्रै बजेट खर्च भएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार यस वर्ष विनियोजित बजेटको ८० दशमलव ४५ प्रतिशत अर्थात् १४ खर्ब ८ अर्ब ९८ करोड रुपियाँ मात्रै बजेट खर्च भएको हो ।
अघिल्लो आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा करिब २० अर्ब रुपियाँ कम बजेट खर्च भएको छ। यसअघि आर्थिक वर्ष २०७६/७७ मा पनि अघिल्लो आ.व. को भन्दा झण्डै २० अर्ब रुपियाँ कम बजेट खर्च भएको थियो। आर्थिक वर्ष २०७५/७६ मा ११ खर्ब १० अर्ब रुपियाँ बजेट खर्च भएकोमा अर्को आर्थिक वर्ष १० खर्ब ९१ अर्ब रुपियाँ मात्रै बजेट खर्च भएको थियो ।
सरकारले आर्थिक वर्ष २०८०/८१ का निम्ति १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपियाँको बजेट विनियोजन गरे पनि बजेटको अर्धवार्षिक समीक्षा गर्दै तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले विनियोजित बजेट १२ दशमलव ६२ प्रतिशत अर्थात् २ खर्ब २१ अर्ब रुपियाँले घटाएर १५ खर्ब ३० अर्ब २६ करोड रुपियाँमा झार्नु भएको थियो।
त्यस्तै, आर्थिक वर्ष २०८१/८२ को बजेट पेस गर्ने क्रममा निवर्तमान अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८०/८१ मा १५ खर्ब ३० अर्ब ३५ करोड अर्थात् विनियोजित बजेटको ८७ दशमलव ४ प्रतिशत हुने संशोधित अनुमान पेस गर्नुभएको छ। यस अर्थमा सरकारी लक्ष्यको साढे ६ प्रतिशत अर्थात् १ खर्ब २१ अर्ब न्यून बजेट खर्च कम भएको छ ।
कुल खर्चमध्ये चालू खर्चतर्फ १० खर्ब ६७ अर्ब ४९ करोड अर्थात् विनियोजनको ९३ दशमलव ५ प्रतिशत खर्च गर्ने संशोधित अनुमान गरिएकोमा जम्मा ९ खर्ब ५२ अर्ब ६२ करोड २२ लाख रुपियाँ अर्थात् ८३ दशमलव ४३ प्रतिशत चालू खर्च अघिल्लो आर्थिक वर्षको तुलनामा ५३ अर्ब रुपियाँ कम खर्च भएको छ ।
पुँजीगत खर्च २ खर्ब १५ अर्ब ३० करोड अर्थात् विनियोजनको ७१ दशमलव ३ प्रतिशत खर्च हुने अनुमान गरिएकोमा जम्मा ६३ दशमलव ४७ प्रतिशत अर्थात १ खर्ब ९१ अर्ब र ७३ करोड १६ लाख रुपियाँ खर्च भएको छ । यो खर्च गत आर्थिक वर्षको तुलनामा ४२ अर्ब कम हो । आजको नेपाल समाचारपत्र दैनिकबाट